काठमाडौं- कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो।
विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो। यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
सो परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।
शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्त मात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो। सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ। विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ।
कोरोना संक्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ। ६ जना कर्मचारीले तालिम लिएर यन्त्र चलाउँदै आएका छन्। -रासस