काठमाडौं- रोजगारीका सिलसिलामा भारत तथा जिल्लाबाहिर गएकाहरु घर फर्किन थालेपछि बागलुङमा कोरोना संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाइएको छ।
ठूलो संख्यामा नेपाली घर फर्किन थालेपछि आइतबारबाट जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ।
स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकारवाला पक्षको शनिबार बसेको बैठकले बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका सिल गर्ने निर्णय गरेको हो।
बागलुङका प्रमुख जिल्ला अधिकारी गौलचोन सैंजुले चारवटै तह जेठ २० गतेसम्मलाई सिल गर्ने निर्णय भएको जानकारी दिए।
‘एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ,’ उनले भने, ‘निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ।’
बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ। बन्दाबन्दी थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्ने बैठकले निर्णय गरेको छ।
जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमतिसमेत गरेका छन्। पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन्।