काठमाडौं- नेपालको नयाँ नक्साअनुसार संघीय संसद्को लोगो पनि परिवर्तन गरिने भएको छ। राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा प्रकाशन गरेको छ। संसद्ले प्रयोग गर्ने लोगोमा नेपालको नक्सो छ।
नक्साअनुसारको लोगो बनाउनुपर्ने भएकाले परिवर्तन गर्ने निर्णय गरिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। सरकारले नेपालको अद्यावधिक नक्सा राजपत्रमा प्रकाशन गरिसकेको छ।