चीनको वुहानस्थित भाइरोलोजी इन्स्टिच्युटमा गरिएको एक परीक्षणका क्रममा चमेरामा तीन किसिमको भाइरस पाइएको छ।
तर, उक्त भाइरस अहिले विश्वभर फैलिएको कोभिड–१९ सँग मिल्दोजुल्दो नरहेको उक्त इन्स्टिच्युटका निर्देशकले बताएका छन्।
कोरोना भाइरसको सुरुवात वुहानबाट भएको मानिँदै आएको छ। कोभिड–१९ नाम दिइएको यो भाइरस सुरुमा चमेरामा पाइएको र त्यसपछि कुनै स्तनधारी जनावर हुँदै मानिसमा पुगेको बताइँदै आएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशक वांग यान्यीले चीनको सरकारी टिभी च्यानल सीजीटीएनसँग भनेका छन्, ‘कोरोना भाइरस वुहानको कुनै ल्याबमा उत्पत्ति भएर विश्वभर फैलिएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ मनगढन्ते छ।’
ल्याबमा परीक्षण गरिएका केही चमेरामा कोरोना भाइरसको पनि पहिचान भएको छ। चमेरामा तीन किसिमको भाइरस देखिएको बताउँदै उनले भने, ‘चमेरामा तीन किसिमको भाइरस पाइएको छ, जुन सार्स–कोभ–२ (हाल फैलिरहेको भाइरस) सँग ७९.८ प्रतिशत मिल्दोजुल्दो देखिएको छ।’