दार्चुला- दार्चुलामा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ। कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि संकलनमा रोक लगाइएको हो।
यार्सागुम्बा संकलनमा रोक लगाइएसँगै स्थानीयको आयस्रोत भने गुम्ने देखिएको छ। यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुटाउने दार्चुलाका अधिकांश स्थानीय तहका नागरिक आर्थिक मन्दी हुने चिन्तामा छन्।
अहिलेको समयमा आर्थिक स्रोतका रूपमा यार्सागुम्बा संकलन नहुँदा परिवारको आम्दानी स्रोत घट्ने अपिहिमाल गाउँपालिका–४ स्थानीय उद्धवसिंह बोहराले बताए।
“तीनदेखि चार हजार मिटरको उचाइमा पाइने यार्सागुम्बा टिप्न जेठको पहिलो सातादेखि अनुमति जारी हुँदै आएको थियो तर यसपटक भने अनुमति नदिने भएपछि हामी स्थानीयवासी निराश छौं”, उनले भने, “कोरोनाको जोखिमभन्दा पनि घर खर्च र बालबालिकाको पठनपाठन कसरी गराउने चिन्ता पलाएको छ। हामी जडीबुटीमा आश्रित छौं।”
आयस्रोतका रूपमा यार्सागुम्बामा निर्भर रहेका यहाँका अधिकांश स्थानीयवासी यार्सा संकलन गरेर ऋण तिर्ने भन्दै एक वर्षदेखि नै खाद्यान्न किन्ने गर्छन्। यसपटक व्यापारीले पनि लगानी गरेका छैनन्। यार्सा बन्द भएपछि स्थानीयवासीले अहिले कसरी ऋण तिर्ने भन्ने समस्या रहेको बोहरा बताउँछन्।
अपिहिमाल गाउँपालिका–२ का प्रेमसिंह कार्कीले यसपटक अपिहिमालका स्थानीय यार्सागुम्बा संकलन गर्न नपाएर समस्यामा पर्ने अवस्था आएको बताए। उनले भने, “यसपटक घर खर्च चलाउनै मुस्किल हुने भयो। गाउँमा काम पनि छैन, यार्सा संंकलन गर्न रोक लगाइएको छ।”
दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा, व्यास, नौगाड गाउँपालिकाका धेरैजसो बासिन्दा यार्सा संकलन गर्न जाने गरेका छन्। विगतमा यसबेला विद्यालय बन्द गराएर हिमाली क्षेत्रका स्थानीयवासी यार्सागुम्बा संकलन जाने गरेका थिए।
डेढदेखि दुई महिनासम्म हिमाली क्षेत्रमा यार्सागुम्बा र अन्य जडीबुटी संकलनमा व्यस्त रहने यहाँका स्थानीयवासी यसपटक भने बन्दाबन्दीले घरमै बस्न बाध्य छन् ।