सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ ।
सङ्क्रमितमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । बाँकी नौ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शनिबार थप चार जनामा पुष्टि भएको हो भने शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
शनिबार पुष्टि भएका सुदूरपश्चिमका सबै बैतडीका रहेका छन् । त्यसमा पनि सबै एउटै शिवनाथ गाउँपालिकाका रहेका जिल्ला अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबै चार जना जेठ ८ गते भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै फर्किएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। शिवनाथ गाउँपालिकाका २० वर्षीय दुई, २२ वर्षीय एक र २७ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि शुक्रबार सङ्क्रमण पुष्टि भएका बैतडीका युवकको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती युवक कर्तव्य ज्यान मुद्दामा गएको वैशाख १५ देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए ।
यसअघि सुदूरपश्चिममा शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टिनमारहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ सङ्क्रमित भेटिएका थिएनन् ।
रासस