गुल्मी, मदाने गाउँपालिका –६ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
मदानेका ४१ वर्षीय शिक्षकमा यही जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालयले प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । तीमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज रिपोर्ट आएका पाँचमध्ये बैंक कर्मचारी एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पनि कहाँ र कसरी लाग्यो भन्ने थाहा हुन सकेको छैन ।
रासस