सुर्खेतमा एकै दिन तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । तीनै जना जेठ ८ गते बिहीबार भारतबाट गाउँ फर्किएका हुन् ।
बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना गरी तीन जनामा कोरोना संक्रमित पुष्टि भएका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये २ पुरुष र एक महिला हुन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशाला पीसीआर गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ र एक जनाको संकास्पद रिपोर्ट आएको थियो ।
पुनः परीक्षणका लागि नमूना संकलन गरी नेपालगञ्ज पठाइएको तीन जनामा कोरोना संक्रमित पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुगेको छ ।
गत जेठ ५ गते दैलेख आठबीसकोट नगरपालिकाका–३५ वर्षीय युवालाई कोरोना संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित चारै जनालाई प्रदेश अस्पताल सुर्खेतको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले जनाए ।