काठमाडौं- कैलालीको धनगढीबाट दुई वटा कार चोरीमा संलग्न रहेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
उनले चार दिनको अवधिमा धनगढीमा पार्किङ गरिरहेको स्थानबाट दुई वटा कार चोरीमा संलग्न दाङ, तुलसीपुर नगरपालिका–५, न्युरोड घर भई धनगढी उपमहानगरपालिका–१ वसन्त टोलमा बस्ने १६ वर्षीय नबीन सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार नबीनले धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका राजेन्द्रबहादुर मल्लको घरअगाडि सडकमा पार्किङ गरी राखेको बा८च २१०० नम्बरको कार जेठ ३ गते राति चोरेका थिए।
त्यसको चार दिनपछि अर्थात जेठ ७ गते सोही ठाउँमा डेरा गरि बस्ने रविन्द्र देव भट्टले घरबाहिर राखेको होन्डाई कम्पनीको बा४च ४७८१ नम्बरको कार पनि चोरी गरेको बस्नेतले बताए।
नबीनले एउटा कारको चाबी रहेको र अर्कोमा नेलकटरले गाडी स्टार्ट गरेको बयान दिएको बस्नेतले बताए। एउटा कार आफ्नै टोलको नवदुर्गा मन्दिर नजिक र अर्को कार क्याम्पस चोकी नजिक खुला चौरमा छाडेको भेटिएको प्रहरीले जनाएको छ।
नबीन यसअघि पनि अपराधिक घटनामा संलग्न भएको प्रहरीले जनाएको छ। २०७६ वैशाखमा नबीनसहित दुई जनाले राजधानीमा दुई वटा क्रस फायर मोटरसाइकल चोरेर फरार भएको प्रहरीको दाबी छ।
यसैगरि सोही वर्षको भदौमा दाङमा एक व्यक्तिले पार्किङ गरी राखेको लु१च २६०३ नम्बरको सुजुकी कार पनि नबीनले चोरेको प्रहरीको भनाई छ। त्यसको एक महिनाअघि दाङमै भएको एक मोटरसाइकल चोरीमा पनि नबीन संलग्न रहेको प्रहरीले जनाएको छ।
कैलालीमै पनि नबीनले यसअघि ३ वटा मोटरसाइकल चोरी गरेको बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार गत भदौमा सल्यान, लुहामका सन्तोष रेग्मीको २२० सिसीको पल्सर मोटरसाइकल पनि उनैले चोरी गरेको प्रहरीले जनाएको छ।
कैलालीमा पहिलो पटक पक्राउ परे पनि यसअघि ६ महिना सुधारगृहमा बसेको खुलेको छ। नाबालक भएको जेल सजाय नहुने भएकाले उनी जता गयो उतै चोरीमा सक्रिय भएको प्रहरीले जनाएको छ।