सर्लाहीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार सर्लाहीका १५ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका सर्लाहीका सबै १५ जना भारतबाट आएका थिए । थप १५ जनामा कोरोना पुष्टि भएसँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ ।
सर्लाहीको गोडैता नगरपालिकाको १४ र रामनगर गाउँपालिकाको १ जना गरी शुक्रबार १५ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । गोडैतामा संक्रमित मध्ये एकजना महिलापनि रहेको उनले बताए ।
संक्रमण पुष्टि भएका सबैजना एक साताअघि भारतबाट फर्केको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । ‘आज संक्रमण पुष्टि भएका उनीहरु सबैजना ७÷८ दिनअघि भारतबाट आएका हुन्,’ उनले भने,‘यहाँ आए लगत्तै सबैजनालाई क्वारेन्टिनमा राखिएको थियो । अहिले पनि उनीहरु क्वारेन्टिनमै छन् ।’
उनीहरुलाई उपचारको लागि जनकपुर वा वीरगंज कहाँ पठाइने यसबारे छलफल भइरहेको जिसीले बताए । ‘उनीहरु सबैलाई आइसोलेसनमा पठाउनुपर्ने भयो,’ जिसीले भने,‘कहाँ पठाउने हामी छलफल गरिरहेका छौं ।’
गोडैतामा कोरोना संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति वडा नम्बर ११ सिसौटियाको रहेको उनले बताएका छन् ।