काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि बनाइएका क्वारेन्टिनहरु उपयुक्त मापदण्डअनुरुप नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले अनुगमनका क्रममा क्वारेन्टिनमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाहको उचित व्यवस्थापन हुन नसकेको पाइएको जनाएको छ।
यसबाट व्यक्तिका आधारभूत मानवअधिकार संकुचनमा परेको आयोगको ठहर छ। क्वारेन्टिनहरु व्यवस्थित हुन नसक्दा सम्भावित संक्रमितहरु क्वारेन्टिनमा बस्न नचाहने र बसिरहेका पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा संक्रामक रोग अझ बढी फैलिने खतरा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले भनेको छ, 'अतः विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न एवम् प्रदेश तथा स्थानीय तहहरुसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन पनि आयोग आग्रह गर्दछ।'
विश्व स्वास्थ संगठनको क्वारेन्टिन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरुको कार्यान्वयन गर्नुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने हुन्छ।
यस्तै क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोर दोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरु बीचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने मापदण्ड छ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनबाहिर रहेका परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलव्ध गराउनुपर्ने र बालबालिका, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था छ।
आयोगले सुत्केरी महिलासहित दुई जनाको निधनप्रति समवेदना प्रकट गरेको छ। साथै कोभिड–१९ को कारणबाट मृत्यु हुनेको परिवारलाई उचित राहत उपलब्ध गराउने सरकारसँग माग गरेको छ।
आयोगले प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पताललाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै संक्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।