काठमाडौं- नेपाल प्रहरीमा एक दम्पतीसहित ६० प्रहरी निरीक्षक (इन्सपेक्टर)को प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएको छ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई आइतबार डीएसपीमा बढुवा सिफारिस गरेको हो।
प्रहरीमा पति पत्नी एकै पटक डिएसपी हुने अवसर पाउने शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी हो।
उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए। यस पटकको बढुवामा गुरुङसँगै नेपाल प्रहरीका चार महिला इनेस्पेक्टरहरु डीएसपी बढुवाका लागि सिफारिस भएका छन्।
महानगरीय प्रहरी प्रभाग, बलम्बुको नेतृत्व गरिसकेकी गुरुङ हाल प्रहरी मुख्यालयमा छिन्। प्रहरी संगठनभित्र उनको व्यावसायिक र निडर अधिकृतको छवि छ।
घिमिरे संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन्। घिमिरे पनि क्षमतावान र व्यावसायिक प्रहरी अधिकृत हुन्।
बढुवाका लागि सिफारिस हुने अन्य महिलाहरुमा पुर्णिमाकुमारी चन्द, चन्चला श्रेष्ठ र रुपा लाबुङ छन्। चन्द ११, गुरुङ १६, श्रेष्ठ २१ तथा लाबुङ २३ नम्बरमा बढुवा सिफारिस भएकी हुन्। उनीहरु सबैको प्रहरी सेवामा प्रवेश गरेको मिति एउटै हो।
बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा डीएसपीको रिक्त ६० दरबन्दीमा बढुवा गरेको छ। बढुवा सिफारिसको पहिलो नम्बरमा पृथ्वीनारायण ओली, दोस्रोमा केदारराज पन्त तथा तेस्रो नम्बरमा जयराज कुइँकेल छन्।