टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सिना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले मृतक बस्ने घर, छिमेकी घर र मृतकले राहत लिँदा सम्पर्कमा आएका जनप्रतिनिधि तथा सामुदायिक सेवा केन्द्रका कर्मचारीको स्वाब सङ्कलन गरिएको जानकारी दिए।। परीक्षणको रिपोर्ट आज साँझसम्म आइपुग्ने वडाध्यक्ष नेपालले बताए। टोखा नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सुत्केरी बस्ने बुद्धमार्ग क्षेत्र शनिबार साँझदेखि आज साँझसम्म सिल गरेको छ ।
वडाध्यक्ष नेपालले टोखामा बस्ने व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको भन्दै जथाभावीरुपमा घरबाट बाहिर ननिस्कन टोखावासीलाई आग्रह गरेका छन्।
रासस