काठमाडौं- नेकपा नेता भीम रावलले कालापानी र लिपुलेकबारे भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाने दिएको अभिव्यक्तिको कूटनीतिक रूपमा खण्डन गर्न नेपाल सरकारसँग माग गरेका छन्।
संघीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिको आज बसेको बैठकमा रावलले भने, “भारतीय सेनाध्यक्षले कालापानी र लिपुलेकबारे नेपाललाई कसैले उचाल्यो भनेका छन्, म त्यो भनाइको भर्त्सना गर्दछु।”
उनले कालापानी र लिपुलेक नेपालको भूमि भएकाले सरकारले जसरी पनि त्यहाँबाट भारतीय सेना फिर्ता गराउनुपर्ने रावलले सरकारसँग माग गरे।
समितिका अर्का सदस्य सुरेन्द्रकुमार कार्कीले भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर बेग्लै नक्सा जारी गरे पनि नेपालले उक्त भूभागसहितको नक्सा बनाउनुपर्ने बताए।