काठमाडौं- सर्लाहीमा दुईवटा पेस्तोलसहित प्रहरीले दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिष्णु गाउँपालिका–३ विश्वनाथपुर टोलबाट सोही ठाउँका २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी मरहाडिह–१ का १९ वर्षीय अनिष साह मुस्लिम पक्राउ परेका छन्।
प्रहरीले उनीहरुले प्रयोग गरेको बीआर ३० एम ६७८७ नम्बरको लिभो मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले मोटरसाइकलको अगाडि प्रेस लेखिएको जानकारी दिए।
बाँसघारीमा लुकेर बसेको अवस्थामा प्रदेश २ को प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट थ्री फिप्टी पेस्तोल, त्यसमा लाग्ने गोली एक थान, त्यसैगरी पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान र त्यसमा लाग्ने गोली पाँच थान बरामद गरेको कुँवरले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका मदन गत वर्ष चोरीको मुद्दा खेपेको बुझिएको छ। उनीहरु विगतदेखि नै मोटरसाइकल चोरीमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने तयारी छ।