काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार महिलाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा भएको हो।
शव सुरक्षाकर्मी र आफन्तले आर्यघाटमा ल्याएका थिए।
एक साताअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलालाई डिस्चार्ज भएर बाह्रबिसेस्थित घर गए पनि स्वास्थ्यमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल लगिएको थियो ।
बिहीबार राति नै उनको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छ ।
कोरोना भाइरसबाट नेपालमा मृत्यु भएको यो पहिलो पटक हो ।