सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ। टेकुस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि धुलिखेल अस्पतालमा उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएपछि केन्द्रीय प्रयोगशालामा थप परीक्षणका लागि लगिएको थियो।
एक साताअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी ती महिलालाई बिहीबार श्वासप्रश्वासमा समस्या भएको थियो।
स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा सामान्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। उनको निधन धुलिखेल अस्पतालमै भएको हो।
कोरोना भाइरसबाट नेपालमा यो पहिलो मृत्यु हो। कोरोना संक्रमितको कुल संख्या भने २८१ पुगेको छ। ३६ जना कोरोना संक्रमित भने तीन पटक लगातार नेगेटिभ रिपोर्ट आएपछि निको भएका छन्। बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
