आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको दुई वर्ष : एकता टुंगो वा एमाले-माओवादीको पुनर्जन्म !

नेकपाको दुई वर्ष : एकता टुंगो वा एमाले-माओवादीको पुनर्जन्म !

अहिलेसम्म एमाले र माओवादीबीच एकीकरण सम्पन्न हुन सकेको छैन। झन् पार्टीभित्र दुई पार्टीको अस्तित्व बलियो भएर गएको छ भने कुनै बेला पनि विभाजन हुन सक्ने संकेत आइरहेका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- तत्कालीन नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) मिलेर नेकपा गठन भएको आज दुई वर्ष भएको छ। नेकपा पार्टी घोषणा कार्यक्रममा मञ्चबाट तीन महिनाभित्र एकीकरण प्रक्रिया पूरा हुने बाचा गरिएको थियो।

अहिलेसम्म एमाले र माओवादीबीच एकीकरण सम्पन्न हुन सकेको छैन। झन् पार्टीभित्र दुई पार्टीको अस्तित्व बलियो भएर गएको छ भने कुनै बेला पनि विभाजन हुन सक्ने संकेत आइरहेका छन्।

हिजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम वाचन सकिएलगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टिप्पणी सकारात्मक आएन। उनले नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए।

याे त सतहमा देखिएकाे विवाद हाे। पार्टीको आन्तरिक राजनीतिमा विवाद नहुँदो हो त विभिन्न निकायका बैठक अवरुद्ध हुने थिएनन्।
अध्यक्ष दाहाल पक्षका नेताहरु पार्टीभित्रको विवाद समाधान गर्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अग्रसर नभएको आरोप लगाउँछन्।

अध्यादेश प्रकरणपछि अध्यक्षद्वय ओली र प्रचण्डबीचको विवाद झन् चुलिएको छ। त्यसको असर सचिवालयमा परेको छ। स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन।

सांगठनिक विवाद

नेकपाले दाबी गर्ने गरेको आठ लाखभन्दा बढी नेता–कार्यकर्ता जिम्मेवारविहीन छन्। पार्टीका केन्द्रीय आयोगहरुले पूर्णता पाउन सकेका छैनन्। सल्लाहकार परिषद् र कम्युनिस्ट मञ्च गठन हुन सकेको छैन।

यस्तै केन्द्रीय समितिले पूर्णता पाएको छैन। कम्युनिस्ट पार्टीमा बलियो मानिने पोलिटब्युरो गठन हुन सकेको छैन।
स्थानीय स्तरबाट लेबी संकलन रोकिएको छ। पार्टीको एकीकृत प्रणालीबाट आर्थिक गतिविधि हुन सकेको छैन। एकीकृत पार्टी कार्यालय स्थापना भएको छैन।

‘दुई पाइलट’ को विवाद

पार्टी एकीकृत हुँदा ओलीले एउटा जहाजको दुई पाइलट भनेर घोषणा गरेका थिए। तर, अर्का पाइलट प्रचण्डले कुनै भूमिका नपाउँदा सुरु भएको विवाद पछिल्लो समय संघीय संसद्को महासचिव चयनमा पनि देखियो। कार्यकारी अध्यक्ष पाएका प्रचण्ड सन्तुष्ट हुन सकेनन्।

एकीकरणताका प्रधानमन्त्री आलोपालो हुने सहमति पनि कार्यान्वयन गर्न ओलीले आनाकानी गरेको जस्तो देखेपछि माओवादी पक्षले विवाद झिक्दै आएको छ। पछिल्लो समय संसदीय दलमै प्रधानमन्त्री ओली अल्पमतमा छन्।

पार्टीभित्रको विवाद सभामुख चयनमा पनि देखियो। विवादकै कारण एमसीसी सम्झौता सदनबाट अनुमोदन गर्न सकिएको छैन। ओली एमसीसी पारित गर्ने पक्षमा छन् भने प्रचण्ड विपक्षमा छन्।

यस्तै पार्टीले अवलम्बन गर्ने वैचारिक सिद्धान्तबारे विवाद कायमै छ।

भावनात्मक एकता

गण्डकी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ पार्टीभित्र भावनात्मक एकता नभएको स्वीकार गर्छन्। पार्टीको सैद्धान्तिक एकतादेखि भावनात्मक एकतासम्मको काम बाँकी रहेको उनले बताए।

एमाले–माओवादीको पुनर्जन्म !

पूर्वमाओवादीका नेता एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पछिल्लो सातासम्म पनि पार्टी जोगाउन ट्विटरमार्फत अपिल गर्दै थिए।
प्रचण्ड निकट नेता हरिबोल गजुरेल यस्तै अवस्था रहे पार्टी विभाजन हुने कुरा उठाउँदै आएका छन्।

एमाले र माओवादी बाहिरबाट गएका नेता पनि पार्टीभित्र सुरिक्षत छैनन्। स्थायी समिति सदस्य गणेश साह पनि पार्टीभित्रको विवाद जता पनि मोडिन सक्ने बताउँछन्। यस्तोमा पार्टीभित्रको विवाद बढ्दै जाँदा एकता प्रक्रिया थप लम्बिएको छ।

प्रकाशित: May 16, 2020| 16:57 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।