काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को संक्रमण ६ जनामा भेटिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाले चार दिनसम्म घरबाहिर हिँडडुलमा प्रतिबन्ध लगाएको छ।
नगरपालिकाले शनिबार दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रमा घरबाहिर हिँड्न प्रतिबन्ध लगाइएको हो।
नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा शुक्रबार बेलुकी बसेको सर्वपक्षीय आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।
लकडाउनको अवधिमा विदेश तथा अन्य जिल्लाबाट आएकाहरुले अनिवार्यरुपमा वडा कार्यालयमा पूर्ण विवरण टिपाउनु पर्ने र कोरोना परीक्षणको रिपोर्ट नआएसम्म अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
नगरभित्रका सम्पूर्ण सुरक्षा निकायका प्रमुखकोसमेत सहभागिता रहेको बैठकले बाहिरबाट आएकालाई लुकिछिपी घरमा राखेको वा बसेको पाइएमा आरडीटी वा पीसीआर परीक्षणमा लाग्ने सम्पूर्ण खर्च व्यक्ति स्वयं तथा घरबेटीले व्यहोर्नु पर्ने निर्णय गरेको छ।
चन्द्रागिरि नगरपालिकाको यो निर्णयले काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोटबाट हुने आवागमन पनि प्रभावित हुनेछ। मालवाहक गाडीलाई सडकमा गुड्न दिए पनि रोक्न र सामान ओसारपसार गर्न पनि रोक लगाइएको सूचनामा उल्लेख छ।
चन्द्रागिरि नगरपालिकामा हालसम्म मच्छेगाउँ, दहचोक, बलम्बु, सतुंगलमा एक एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नगरभित्रका औषधि पसलबाहेक अन्य सबै खालका पसल, सरकारी, सहकारी, प्राइभेट सबै खालका कार्यालय सञ्चालन र विकास निर्माणका काममा पनि रोक लगाउने निर्णय गरिएको छ।