इटहरी- सीमावर्ती भारतीय राज्य पश्चिम बंगाल र बिहारभन्दा प्रदेश १ कोभिड–१९ को जाँचमा अगाडि देखिएको छ। जनसंख्याको अनुपातमा हुने दैनिक जाँच दरमा प्रदेश १ सीमावर्ती भारतीय राज्यभन्दा अगाडि देखिएको हो।
करिब ५० लाख जनसंख्या भएको प्रदेश १ मा हाल दैनिक औसतमा २०० मेसिनबाट हुने जाँच पीसीआर हुँदै आएको छ। प्रदेश १ भन्दा १८ गुणा धेरै नौ करोड जनसंख्या भएको पश्चिम बंगालमा भने दैनिक सात सय हाराहारी मात्रै जाँच हुने भारतीय दैनिक टाइम्स अफ इन्डियाको रिपोर्टले उल्लेख गरेको छ।
जबकि प्रदेश १ भन्दा अठार गुणा धेरै जनसंख्याअनुसार प्रदेश १ कै तहमा जाँच गर्दा दैनिक ३६०० जाँच हुन आवश्यक छ। पश्चिम बंगालमा यसको सात गुणाभन्दा कम अनुपातमा जाँच भइरहेको छ।
विभिन्न अनलाइन रिपोर्टअनुसार पश्चिम बंगलामा शनिबार बिहानसम्म २३७७ कोभिड–१७ बिरामी देखिएका छन् भने २१५ को मृत्यु भएको छ।
बिहारमा वैशाख मसान्तसम्म दैनिक १८०० पीसीआर जाँच हुँदै आएको भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
रिपोर्टमा वैशाख ३१ सम्म उक्त दरको दैनिक जाँच भएको बताइएको छ। प्रदेश १ भन्दा २० गुणा धेरै १० करोड जनसंख्या भएको बिहारमा दैनिक १८०० को जाँच हुनु प्रदेश १ को तुलनामा अत्यन्तै कम हो। बिहारले प्रदेश १ को तहमा जाँच गर्न दैनिक ४००० जाँच हुनुपर्ने देखिन्छ।
वैशाख अन्तिमसम्म प्रदेश १ भन्दा कम दरमा जाँच गरेको बिहारले जेठ लागेपछि भने दैनिक १० हजार जाँच गर्ने तयारी गरेको बिहारका मुख्यमन्त्री नितिश कुमारलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
बिहारमा शनिबार बिहानसम्म ९९९ कोभिड–१९ का प्रमाणित बिरामी भेटिएका छन भने ७ जनाको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
प्रदेश १ मा विभिन्न तीन ल्याबबाट पीसीआर जाँच हुँदै आएको छ। धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र विराटनगरका कोसी अञ्चल अस्पताल तथा पशुपन्छी रोज अनुसन्धान प्रशोगशालामा दैनिक औसतमा २०० हाराहारी जाँच हुँदै आएको मुख्यमन्त्री कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ।
प्रदेश १ मा बीपी प्रतिष्ठानमा चैत १६ गतेदेखि जाँच सुरु भएको हो भने कोसी अस्पतालमा चैत २८ देखि मेसिनबाट गरिने पीसीआर जाँच हुन थालेको हो। पशुपन्छी प्रयोगशाला विराटनगरमा भने वैशाख १९ बाट जाँच हुँदै आएको छ।