काठमाडौं- उपत्यकाका तीन वटै जिल्लामा लकडाउन कडा पारिएकाे छ।
कोरोना भाइरस (कोभिड–१९) का संक्रमित देखिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले यसअघि जारी गरेका सबै सवारी पास खारेज गरेका छन्। सडक र भित्री गल्लीमा निस्किनेमाथि पनि कडा निगरानी गर्न थालिएकाे छ।
दुई जनामा कोरोना संक्रमण भेटिएपछि भक्तपुरको दुई वटा टोललाई ‘सिल’ गरिएको छ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले कोरोना संक्रमित भेटिएको दुवाकोट शंखरधर टोललाई सिल गरिएको जानकारी दिए।
प्रधानका अनुसार दुवाकोटमा एक घर र शंखधर टोलमा चार घरलाई पूर्णरुपमा सिल गरिएको छ। ती घरमा आवश्यक पर्ने सबै खाद्यवस्तु प्रशासनले पुर्याएको प्रधानले बताए।
राजधानी प्रवेश गर्ने मुख्य पूर्वी नाका भक्तपुरको जगातीमा चेकमा निकै कडाइ गरिएको छ। जगातीसँगै काभ्रेसँगको सहकार्यमा साँगामा थप चेकपोस्ट स्थापना गरी सवारी तथा पैदल यात्रुलाई पूर्णरुपमा जिल्ला प्रवेशमा रोक लगाइएको प्रधानले जानकारी दिए।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एवं एसएसपी सुशीलकुमार यादवले सरकारको निर्देशनअनुसार उपत्यका लकडाउन निकै कडा पारिएको बताए।
यस्तै, प्रहरीले पासबिना चलाइएका पाँच सय १६ सवारी साधन नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठले लकडाउनको उल्लंघन गर्दै चलाइएका चार सय ७८ वटा दुईपांग्रे तथा ३८ वटा चारपांग्रे सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए।