राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताएकी छन्।
संघीय संसद्को संयुक्त सदनमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भ्रष्टाचार गर्ने कसैलाई पनि उम्कन नदिने बताएकी हुन्। सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको उनले बताइन्।
'भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जो कोही उम्किन पाउने छैनन्। भ्रष्टाचारमा संलग्नलाई कारबाही तीव्र पारिएको छ,' उनले भनिन् । सुशासन कायम गर्न सरकार क्रियाशील रहेको भन्दै उनले पारदर्शिता अपनाउँदै जवाफदेहिताविहीन अवस्थालाई अन्त्य गरिएको पनि दाबी गरिन्।