काठमाडौं– सन् २००१ को सेप्टेम्बर ११ मा आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काउँदा कम्तीमा तीन हजार मानिसको ज्यान गएको थियो। उक्त आक्रमण विश्वकै लागि शताब्दीकै सबैभन्दा पीडादायक घटना मानिन्छ।
सेप्टेम्बर ११ को बिहान संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए। त्यसपछि तीनलाई ‘नियन्त्रित मिसाइल’ का रूपमा न्युयोर्क र वासिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो।
दुईवटा विमानले न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए। ट्रेड सेन्टरका जुम्ल्याहा भवन न्युयोर्कका परिचायक थिए।
पहिलो विमानले स्थानीय समयअनुसार बिहान ८ः४६ मिनेटमा आक्रमण गरेको थियो। दोस्रो विमान ९ः०३ मिनेटमा ठोक्काइएको थियो। त्यसपछि भवनमा आगो लाग्न थाल्यो। माथिल्ला तलामा मानिस फसेका थिए। केही बेरमै सहर धुवाँको मुस्लोले ढाकेको थियो। दुई घण्टाभन्दा कम समयमा ११० तले दुवै भवन ढलेर भग्नावशेषमा परिणत भएका थिए।
नौ बजेर ३७ मिनेटमा तेस्रो विमानले राजधानी वासिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो।
यी घटनामा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाएको तथ्यांक छ। तीमध्ये अधिकांश न्युयोर्कमा मारिएका थिए।
पहिलो विमानले ठक्कर दिँदा टावरभित्र अनुमानित १७,४०० जना रहेको बताइन्छ। १८ जना भने १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए। ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए। चारवटा विमानमा सवार चालक दलका सदस्य र यात्रु गरी सबै २४६ जनाको मृत्यु भयो। पेन्टागनमा १२५ जनाको मृत्यु भएको थियो।
झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् र त्यसका कारण उक्त इस्लामवादी सञ्जालको पुनरागमन हुने चिन्ता व्यक्त भएका छन्।
ती घातक आक्रमणको योजना इस्लामवादी अतिवादी समूह अल कायदाले अफगानिस्तानबाट बुनेको थियो। ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्याउने गर्थ्यो। अपहरणमा संलग्न १९ जना पाँच जनाको तीन वटा र चार जनाको एउटा समूहमा विभाजित थिए।
प्रत्येक समूहमा विमानचालकको तालिम लिएको एक व्यक्ति थिए। त्यस्तो तालिम अमेरिकाकै उड्डयन प्रशिक्षण केन्द्रमा लिइएको थियो।
आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अल कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरे। अमेरिकी सैनिकले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्। तर सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिए।
सेप्टेम्बर ११ को हमलाका आरोपित योजनाकार खालिद सेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो। त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अभियोजनको पर्खाइमा छन्।
अल कायदा अझै पनि अस्तित्वमा छ। सबसहारा अफ्रिकामा उसको पकड बलियो छ। अहिले अफगानिस्तानभित्र पनि उसका सदस्य छन्। झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् र त्यसका कारण उक्त इस्लामवादी सञ्जालको पुनरागमन हुने चिन्ता व्यक्त भएका छन्।