बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रेमिट्यान्स १० प्रतिशत घट्ने अनुमान, स्वास्थ्य जोखिममा कामदार

रेमिट्यान्स १० प्रतिशत घट्ने अनुमान, स्वास्थ्य जोखिममा कामदार

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहँदा त्यसको प्रत्यक्ष असर रेमिट्यान्स बढी भित्रिने नेपालजस्तो मुलुकमा पर्ने भएको छ । नेपालमा कुल बजेटको झन्डै ५७ प्रतिशत रकम रेमिट्यान्सको रुपमा भित्रिने गरेको छ ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहँदा त्यसको प्रत्यक्ष असर रेमिट्यान्स बढी भित्रिने नेपालजस्तो मुलुकमा पर्ने भएको छ । नेपालमा कुल बजेटको झन्डै ५७ प्रतिशत रकम रेमिट्यान्सको रुपमा भित्रिने गरेको छ ।

गत आर्थिक वर्षमात्र नेपालमा ८ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । यो कुल गार्हस्थ्य उत्पादनको २५.४ प्रतिशत हो । यस वर्ष सरकारले गत वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भई ९ खर्बको हाराहारीमा नेपालमा रेमिट्यान्स भित्रने आँकलन गरेको थियो तर विश्वभर फैलिएको महामारीका कारण नेपाल भित्रने रेमिट्यान्स १० प्रतिशत कम हुने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिनासम्ममा त नेपालमा रेमिट्यान्स आप्रवाह घटेको छैन। आठ महिनामा ५ खर्ब ९२ अर्ब आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ८२ अर्ब रुपैयाँ आएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टले नेपालमा आउने रेमिट्यान्सको ५० प्रतिशत रकम खाडी मुलुकबाट आउने र आइएमफले पनि कोरोनाका कारण ती मुलुकहरुको आर्थिक वृद्धि ३ देखि ४ प्रतिशतसम्मले ऋणात्मक हुने प्रक्षेपण गरेकोले नेपाल भित्रने रेमिट्यान्स घटेर यो बर्ष ८ खर्ब पनि नपुग्ने हो की भनेर डर लागेको बताए ।

“रेमिट्यान्समा कमी आउनेबित्तिकै यसले आर्थिक र वित्तीय क्षेत्र दुवैमा नकारात्मक प्रभाव पार्छ,” शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भिडियो कन्फ्रेन्स कार्यक्रममा उनले भने, “रेमिट्यान्स कम हुनेबित्तिकै डिमान्ड र सप्लाई दुवै ह्वात्तै घट्छ र यसले नेपालको आर्थिक वृद्धिमा पनि नराम्रो प्रभाव पार्छ ।”

उनले रेमिट्यान्सको विकल्पमा सरकारले काम गरिरहेको बताउँदै विदेशी दातृ निकाय विषेशगरी आइएमएफले २६ अर्ब डलरसम्म ऋण दिने बताएकोले पनि स्पष्ट पारे ।

वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपालले ६८ प्रतिशत नेपालीहरुले विदेशमा विषेशगरी खाडी मुलुकहरुमा आधारभूत स्वास्थ्य सामग्री नै नपाएको बताए ।

उनले खाडी मुलुकले आफ्ना नागरिक र विदेशी कामदारबीच ठूलो भेदभाव गरेको, नेपाली कामदारलाई फोर्स लिभमा जान दबाब दिएको, कतिपय कामदारलाई पैसा नदिने भनिएको बताउँदै यी सम्पूर्ण कुराहरु कानुन विपरित रहेकोले सरकारले कूटनैतिक दवाव दिन आवश्यक रहेको बताए ।

“हाम्रो अध्ययन अनुसार धेरै नेपालीहरु स्वदेश फर्कन चाहेका छन् । यदि विदेशमा रहका ५० लाख नेपाली मध्ये २० लाखमात्र नेपालमा आए भनेपनि हाम्रो देशको लागि अर्को महामारी समान हुनेछ । उनीहरुलाई दिने रोजगार छैन र उनीहरु नेपाल आए कसरी व्यवस्थापन गर्ने भन्ने भिजन छैन,” उनले भने ।

उनले हरेक महामारीपछि अवसरहरु पर्याप्त आउने गरेको इतिहास भएपनि तत्काल कसरी जोगिने भन्ने कुरा समस्या रहेको स्पष्ट पारे । उनले सरकारले विदेशमा गएका नेपालीहरु नेपाल आउन चाहेमा ल्याउनु पर्ने तर सरकारले नल्याएको भन्दै उनीहरुको स्वदेश फर्कन पाउने हकको पनि हनन भएको दावी गरे ।

 

प्रकाशित: Apr 17, 2020| 18:35 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्