कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले क्षति पुगेको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र आगामी कदमहरु’ विषयक भिडियो कन्फ्रेन्स कार्यक्रममा निजी क्षेत्रका सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष भवानी राणाले क्षतिको आंकलन गरी राहत प्याकेज ल्याउन माग गरिन् । ‘सरकारले आफ्नो क्षमताअनुसार राहत प्याकेज ल्याओस्,’ अध्यक्ष राणाले भनिन् ।
सरकारले राहत प्याकेजको व्यवस्था नगर्ने हो भने उद्योग तथा व्यवसाय क्षेत्र पूर्ण रुपमा शिथिल बन्ने उनको भनाइ थियो । सरकारसँग राहत माग्ने मात्रै होइन, कारोरोनासँग लड्न निजी क्षेत्र एक भएर लागेको उनले बताइन्।
अहिले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्श लगायत निजी क्षेत्र मिलेर अगाडी बढेको उनले बताइन् । अहिलेको असहज परिस्थितिमा पनि निजी क्षेत्रले नाफाको मतलब नगरेर कसरी मानव जीवनलाई बचाउन सकिन्छ भनेर लागिपरेको उनको भनाइ थियो।
त्यसैगरी उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई रहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए । त्यसका लागि राष्ट्र बैंक तथा अर्थमन्त्रालयलाई जानकारी समेत गराएको अध्यक्ष मोरको भनाइ थियो । त्यस्तै अहिलेको अवस्थामा ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनुपर्छ भन्ने माग गरेका छन् । यसले अर्थतन्त्रलाई माथि उकास्न थोरै भएपनि सहयोग हुने अध्यक्ष मोरको भनाइ थियो ।
कामदारको स्वास्थ्यको पूर्ण जिम्मेजारी कम्पनीले लिने भन्दै अति आवश्यकीय उद्योगहरु चलाउने काम भइरहेको उनले बताए । साथै उनले बजारमा खाद्यान्नको तत्काल अभाव नभएको समेत दाबी गरे।
त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताए । त्यसका लागि आम नेपाली एक भएर लाग्नुपर्ने उपाध्यक्ष मल्लले बताए । खास गरी सरकारले कृषि र औषधी जन्य सामानमा आत्मनिर्भर बन्ने खालका प्याकेज ल्याउनुपर्ने उनको भनाइ थियो ।