बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुनसक्ने, विकसित देशको ऋणात्मक

नेपालको आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुनसक्ने, विकसित देशको ऋणात्मक

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० मा विश्वको जीडीपी तीन प्रतिशतमा संकुचन हुने र नेपालको आर्थिक वृद्धिदर २.५ मा सीमित हुने प्रक्षेपण गरेको छ ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० मा विश्वको जीडीपी तीन प्रतिशतमा संकुचन हुने र नेपालको आर्थिक वृद्धिदर २.५ मा सीमित हुने प्रक्षेपण गरेको छ ।

गत जनवरीमा आईएमएफले नै सन् २०२० मा विश्वको जीडीपी ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । तर, विश्वभर कोरोनाको सन्त्रासका कारण आर्थिक वृद्धिमा कमी आउने आईएमएफको भनाइ छ। वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्ट सार्वजनिक गर्दै आईएमएफले सन् १९३० पछिको सबैभन्दा ठूलो आर्थिक मन्दीबाट विश्व गुज्रिरहेको पनि बताएको छ ।

आईएमएफले कोरोनाका कारण विश्वको आर्थिक गतिविधि ठप्प हुँदा विश्वका विकसित देशको आर्थक वृद्धिदर ऋणात्मक हुने दावी गरेको छ । अहिलेको अवस्थाअनुसार कोरोनाले सबैभन्दा बढी प्रभावित युरोपका देशहरु छन्। सबैभन्दा बढी इटाली र स्पेनको आर्थिक बृद्धि ९.१ र ८ प्रतिशतले ऋणात्मक हुने अनुमान छ । समग्र युरोप क्षेत्रको आर्थिक बृद्धि ७.५ प्रतिशतले ऋणात्मक हुने छ ।

यस्तैगरी बढी प्रभावित हुने देशमा अमेरिका वेलायत, जर्मनी, फ्रान्स र जापान पनि रहेका छन् । उनीहरुको आर्थिक वृद्धि सन् २०२० मा क्रमशः अमेरिकाको ५.९, बेलायतको ६.५, जर्मनीको ७, फ्रान्सको ७.२ र जापानको ५.२, प्रतिशत ऋणात्मक हुने आइएमएफको दावी रहेको छ ।

त्यस्तैगरी कोभिड १९ पहिलो पटक देखिएको चीनको आर्थिक वृद्धि भने १.२ र भारतको १.९ प्रतिशत रहने आइर्एमएफले जनाएको छ ।

सन् २००९ मा भएको ग्लोवल फाइनासियल क्राइसिसका बेलामा अमेरिका, युरोजोन र जापानको आर्थिक वृद्धिदर क्रमः ३, ४.५ र ५.८ प्रतिशतले ऋणात्मक रहेको थियो भने इमर्जिङ इकोनोमीको रुपमा रहेको भारत र चीनको आर्थिक वृद्धि ९ प्रतिशत र ८ प्रतिशत थियो ।

आउटलुक रिपोर्ट सार्वजनिक गर्दै आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथले विश्वकै अर्थव्यवस्थाको वृद्धिदर ऋणात्मक हुने र यसले सबैभन्दा बढी विकासित देशलाई प्रभाव पार्ने बताइन् । उनले महामारी कहिलेसम्म हुन्छ भन्नेकुरा कसैले भन्न नसकेकोले यसले अर्थतन्त्रमा कति प्रभाव पार्छ भनी यकिन गर्न नसकिने बताइन् ।

उनका अनुसार हाल आईएमएफसँग ९० वटा देशले आकस्मिक फण्ड माग गरेका छन् । आइएमएफमा १८९ वटा देश सदस्य रहेका छन्। आईएमएफले यही अवस्था केही समय रहेमा वेरोजगारी र भोकमरी बढी विश्वमा नै असमानता सिर्जना हुन सक्ने दावी गरेको छ ।

प्रकाशित: Apr 15, 2020| 13:10 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्