बिहीबार, भदौ ४, २०८३

चेम्बरले माग्याे ब्याजमा ६ प्रतिशत अनुदान

निजी क्षेत्रले व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याजमा ६ प्रतिशत अनुदान दिन माग राखेको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रले व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याजमा ६ प्रतिशत अनुदान दिन माग राखेको छ।

चेम्बर पदाधिकारीले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर व्यवासायका लागि लिएको ऋणको कम्तीमा ४ प्रतिशत सरकारी अनुदान र २ प्रतिशत बैंक तथा वित्तीय संस्थाले अनुदान दिने व्यवस्था हुनुपर्ने माग राखेका हुन्।

चेम्बरले राष्ट्र बैंकसमक्ष १७ बुँदे माग राखेको छ। ब्याक टु ब्याक एलसीका लागि एक्सपर्टको व्यवस्था गरी उल्लेख्य रकमको व्यवस्था हुनुपर्ने, टीआर लोन सर्ट टर्मको साँवा र ब्याजलाई पुनर्संरचना गरी कम्तीमा ६ महिना थप गरिनुपर्ने, प्रतीतपत्र तथा टीटी सुविधाबाट आयात सामग्रीको डकुमेन्ट हालको परिस्थितिमा इ डकुमेन्ट स्वीकार गरिनुपर्ने र पछि सक्कली पेस गर्नुपर्ने व्यवस्था गर्न माग राखेको छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत पदाधिकारीले गभर्नरसँग सर्वसाधारणले लिएको घर कर्जा र हायर पर्चेज कर्जाको सावाँ र ब्याजको भुक्तानी गर्ने ऋणको साँवा ब्याज भुक्तानी अवधि थप्नुपर्ने पनि माग राखेका छन्।

कोरोना भाइरसका कारण निजी क्षेत्र मात्र नभएर सर्वसाधारण पनि समस्यामा परेको भन्दै चेम्वरले ग्रामीण अर्थतन्त्रलाई क्रियाशील बनाउन र वैदेशिक रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै सीप, श्रम र पुँजी खर्चिने नीति ल्याउन पनि सुझाव दिएको छ।

चेम्बरकाे सुझाव छ, “गाउँगाउँमा सीपमूलक तालिमको व्यवस्था गर्ने र उद्यमशीलताको विकास गर्ने। उत्पादित वस्तुको बजारीकरणका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य हुनुपर्ने, बैंकको स्प्रेडदर ३ प्रतिशत कायम हुनुपर्ने, सीसीडी रेसियो खुकुलो बनाउनुपर्ने, सरकारको ढुकुटीमा रहेको रकम निजी क्षेत्रमार्फत आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लगानीका लागि नीतिगत व्यवस्था गर्नुपर्ने।”

प्रकाशित: Apr 14, 2020| 17:27 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्