बिहीबार, भदौ ४, २०८३

नेपालको आर्थिक वृद्धिदर २.८ % मा झर्नसक्छ: विश्व बैंक

विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

काठमाडौं– विश्वबैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।

रेमिट्यान्समा आएको कमी, व्यापार र पर्यटन क्षेत्रमा पुगेको क्षति साथै सीमा क्षेत्रमा भएको बन्दाबन्दीका कारण नेपालको आर्थिक वृद्धिमा ठूलो प्रभाव पर्ने बैंकले प्रक्षेपण गरेको हो ।

कोभिड– १९ को प्रभावसँगै आकस्मिक राहत र पुनःउत्थानका सरकारी प्रयासहरु निकै कमजोर रहेकाले नेपालमा गरीबको संख्या बढ्ने पनि बैंकले अनुमान गरेको छ।

‘साउथ एसिया इकोनोमिक फोकस– स्प्रिङ २०२०’ शिर्षकको प्रतिवेदन जारी गर्दै विश्वबैंकले कोभिड– १९ का कारण समग्र दक्षिण एसियामा ४० वर्ष यताकै सर्वाधिक आर्थिक संकट आउने प्रक्षेपण पनि गरेको छ।

दक्षिण एशियाली आर्थिक वृद्धि दर यसअघिको अनुमान ६.३ प्रतिशतबाट झरेर १.८ देखि २.८ सम्म झर्ने बैंकले जनाएको छ।

खाद्य सामाग्रीको मूल्य आकाशिने, अधिकांश गरीबहरुले रोजगार गुमाउने र, कोरोना संक्रमणका कारण न्यून आर्थिक अवस्था भएकाहरुले नै बढी क्षति भोग्नु पर्ने जनाएको छ।

तल्लो बर्गका जनताका लागि सामाजिक दूरी कायम गर्नु मुश्किल भएको, उनीहरुको स्वास्थ्य सेवामा सम्म पहुँच नरहेको मात्रै होइन धेरै गरीबलाई साबुनको जोहो गर्नु पनि गाह्रो हुने प्रतिवदेनमा उल्लेख छ।

दक्षिण एसियामै पर्यटन क्षेत्र ठप्प भएको, आपूर्तिमा अवरोध आएको, गार्मेन्टको मागमा गिरावट आएको, उपभोक्ता र लगानीकर्ता दुबैको आत्मबल गिरेको पनि बैंकले उल्लेख गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय पूँजी पलायन हुन थालेको र रेमिट्यान्समा भारी गिरावट आएका कारण पनि आर्थिक विकासमा संकट आउने बैंकको अनुमान छ।

बैंकहरुले सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेकालाई सहुलियतपूर्ण ऋण आप्रवाह गर्न ढिलाई गर्न नहुने बैंकको सुझाव छ।

विश्व बैंकले कोरोना भाइरसले सिर्जना गर्ने आर्थिक मन्दी २०२२ सम्म कायम रहने र त्यसपछि मात्र विश्व अर्थतन्त्र पुनःस्थापना हुनसक्ने उल्लेख गरेको छ ।

प्रकाशित: Apr 12, 2020| 14:36 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्