नयाँदिल्ली- भारतले कोरोना भाइरसका कारण देशव्यापी रुपमा गरिएको लकडाउन अवधि थप दुई साता बढाउने संकेत गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँग गरेको भिडियो वार्तामा अधिकांश राज्यका मुख्यमन्त्रीले संक्रमणबाट जोगिन अप्रिलभर लकडाउन गर्न सुझाव दिएका थिए।
भारतमा संक्रमण तेस्रो चरणमा पुगेको संकेत
भिडियो वार्तापछि सरकारका मुख्य प्रवक्त केएस धतवलियाले ट्विट गरेका छन्, 'प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भएको भिडियो वार्तामा अधिकांश राज्यका मुख्यमन्त्रीले लकडाउन दुई साता थप गर्न आग्रह गरेका छन्। सरकारले यसबारे विचार गरिरहेको छ।' भारतका उडिसा, पन्जाब र महाराष्ट्रमा अप्रिलभर लकडाउन गर्ने निर्णय भइसकेको छ।
भिडियो वार्तापछि कर्नाटकका मुख्यमन्त्रीले भने, 'प्रधामन्त्रीले लकडाउनको समयावधि थप १५ दिन बढाउन अपरिहार्य छ भन्नुभयो।'
भारतमा जारी २१ दिने लकडाउन १४ अप्रिल अर्थात् आगामी मंगलबार सकिँदै छ। कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म २८८ जनाको मृत्यु भइसकेको छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन्।