काठमाडौं - अर्थमन्त्री डा.युवराज खतिवडाले वैदेशिक ऋणको सावा–ब्याज भुक्तानीको समय केही वर्ष पर सार्न आग्रह गरेका छन्।
विश्व बैंक, आइएमएफ, अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार विकास बैंक जस्ता बहुपक्षीय विकास संस्थालगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीसँग कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको असर र नेपालले गरेको प्रयासका बारेमा शुक्रबार गरिएको छलफलमा उनले सो आग्रह गरेका हुन्।
उनले द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनु पर्ने धारणा राखे। अन्तर्राष्ट्रिय दातृ निकायले यस्तो सहुलियत दिएमा नेपालजस्तो सीमित स्रोतसाधन भएका मुलुकहरुले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्न सक्ने खतिवडाले बताए।
त्यस्तै उनले नियमित रुपमा उपलब्ध भइरहेको अतिरिक्त थप स्रोत साधनबाट मात्र यो संकट समाधान हुन सक्ने बताउँदै विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने उल्लेख गरे।
छलफलका क्रममा अर्थमन्त्रीले विकास साझेदारहरुसँग अन्तर्राष्ट्रिय सहयोगका विभिन्न क्षेत्रका विषयमा ध्यान आकर्षित गरे। उनले अन्तर्राष्ट्रिय वित्तिय सहयोग संस्थाहरुसँग भने, ‘परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भएकोले नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्रो जस्तो जोखिमयुक्त देशको संकटको समाधान हुनेछ।’
त्यसैगरी उनले अहिलेको संकट एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकट रहेको बताउँदै यसको सामना विश्वले एकजुट भएर गनुपर्नेमा जोड दिए। विगतका संकट या त मानवीय या आर्थिक भएका र ती अघिपछि भएर आएका बताउँदै अर्थमन्त्री खतिवडाले अहिले मानवीय र आर्थिक संकट सँगसँगै आएको बताए। उनले पहिलेको कुनै पनि संकट भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि उच्च रहेको दाबी गरे। उनले भने, ‘यसबाट उम्कन र विकासको पुनर्उत्थान गर्न पनि अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनुपर्छ।’
अर्थमन्त्रीले यो विश्वव्यापी संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भए तापनि देश भित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वोपरी रहनेमा जोड दिए। उनले भने, ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा यस क्रममा अर्थतन्त्रमा देखा परेका चुनौती समाधान गर्न नेपालले कुनै कसर बाँकी राख्दैन। यसमा अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको पनि उत्तिकै आवश्यकता रहेको छ।’ विकास साझेदारहरुले नेपालमा हालसम्म गरेका कार्यहरुको सराहना गर्दै खतिवडाले अब गर्ने प्रयासमा सबैको साथ र सहयोग रहने विश्वास दिलाए।
भिडियो कन्फ्रेन्समा सहभागीहरुले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आ–आफ्नो धारणा राखेका थिए।
छलफलमा खतिवडासँग विश्व बैंकका भाइस–प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्राष्ट्रिय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, अन्तर्राष्ट्रिय वित्त निगमका भाइस–प्रेसिडेन्ट नेना स्टोजोभिक, एसियाली विकास बैंकका भाइस–प्रेसिडेन्ट सिजिन चेन, एसियाली पूर्वाधार विकास बैंकका भाइस–प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि. जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपालस्थित विश्व बैंकका कन्ट्री म्यानेजर, नेपालस्थित एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टरसँग प्रत्यक्ष छलफल भएको थियो।