बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लकडाउनको दुई सातामा साढे ३५ अर्बको विद्युतीय कारोबार

लकडाउनको दुई सातामा साढे ३५ अर्बको विद्युतीय कारोबार

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लकडाउनको दोस्रो सातामा रु ३५ अर्ब ६० करोड बराबरको विद्युतीय कारोवारको फछ्र्यौट गरेको छ । जबकी पहिलो सातामा मात्रै रु १८ अर्ब ६० करोड बराबरको कारोवारको फछ्र्यौट गरेको थियो । पहिलो साताको तुलनामा झण्डै दोब्बरले विद्युतीय कारोवारको फछ्र्यौट गरिएको हो ।

लिमिटेडले हाल एनएचसिएल–इसिसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कनेक्ट आरटिजीएस र एनपीआइ गरी पाँच वटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । त्यसमा नेपाल राष्ट्र बैंकलगायत प्राय सबै बैंक वित्तीय संस्था आबद्ध छन् । सञ्चालनमा रहेका प्रणालीमध्ये इलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तर बैंक भुक्तानी प्रणालीमा आजदेखि लकडाउनपूर्वको अवस्थाबमोजिमको समयसम्म क्लियरिङ गर्ने व्यवस्था गरिएको छ ।

एनएचसिएल–इसिसीको नियमितरुपमा दिनको एक बजेर ३० मिनेटसम्म जम्मा गरिएका चेक र एनसिएचएल–आइपिएसमा दिनको १ः०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेश सोही दिनमा फछ्र्यौट हुने व्यवस्था गरिएको छ । सो समयसीमापछि प्रणालीमा आएका कारोवार अर्को दिनमा फछ्र्यौट हुने व्यवस्था रहेको छ ।

एनसिएचएलको कनेक्ट आइपिएसबाट भने साविकबमोजिम चौबिसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङबाट कारोवार गर्न सकिने लिमिटेडले जनाएको छ ।

रासस

प्रकाशित: Apr 09, 2020| 18:17 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्