अखिल नेपाल फुटलबल संघ (एन्फा)ले ललितपुर महानगरपालिकालाई दुईवटा एम्बुलेन्स सहयोग गरेको छ। आज (मंगलबार) एन्फाले ललितपुरलाई एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको हो।
एन्फाले दिएका दुई एम्बुलेन्स कोरोना भाइरस महामारीको समयमा प्रयोग गरिने बताइएको छ। कोरोनाको जोखिम कम भएपछि एम्बुलेन्स एन्फालाई नै फिर्ता गर्ने सम्झौतामा एन्फाले सहयोग गरेको छ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र ललितपुर महानगरपालिकाका मेयर छिरिबावु महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतापछि महर्जनले महामारीको समयमा एन्फाले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन्।
एन्फाले फिफाको फन्डबाट यी दुई एम्बुलेन्स खरिद गरेको थियो।
यसअघि पनि एन्फाले एक सूचना जारी गर्दै आफ्ना पूर्वाधारहरु महामारीको समयमा प्रयोग गर्न सरकारलाई आह्वान गरेको थियो। जसकारण एन्फाको महिला फुटबल एकेडेमी प्रदेश २ सरकाले क्वारेन्टाइनका लागि प्रयोग गरिरहेको छ।
त्यस्तै काठमाडौं, धरान र बुटबलमा रहेका अन्य भवनहरु पनि आवश्यक परेको खण्डमा सरकारले चलाउन दिने भएको छ।