सरकारले खर्चको स्रोत जुटाउनका लागि चालू आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । त्यसमध्ये सोमबारमात्र सरकारले २५ अर्बको ऋण उठाउनका लागि ऋणपत्र जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकले ऋण उठाउने कार्यतालिका सार्वजनिक गर्दै सोमबार २५ अर्ब बराबरको ऋण उठाउने जनाएको छ । त्यस्तै केन्द्रीय बैंकले चैत महिनामा मात्र ५५ अर्ब ४० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
सोमबार २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन गरिसकेको बैंकले चैत मसान्तभित्रमा नै ३० अर्बको विकास ऋणपत्र र ४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने जनाएको छ ।
यसैगरी बाँकी ऋण भने चौथो त्रैमास (वैशाख–असार) मा १ खर्ब ३९ अर्ब रुपैयाँ उठाउने छ । यसमध्ये ६५ अर्ब रुपैयाँ ट्रेजरी बिल्सबाट, ७० अर्ब विकास ऋणपत्रबाट, ४ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट र ४० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रबाट हुनेछ ।
आन्तरिक ऋणमा बैदेशिक रोजगार बचतपत्रको ब्याजदर १० प्रतिशत तोकिएको छ भने ट्रेजरी बिल्स र विकास ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने छ ।
चालु बर्षको आन्तरिक ऋण उठाउनु पर्ने नियमित तालिका अनुसार नै अहिले पैसा उठाउन लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए ।
सरकारले कारोनाको कारण राजश्व संकलन प्रभावित हुने भन्दै आन्तरिक खर्च कटौति गरेको छ भने आन्तरिक ऋण पनि उठाउन सोमबारदेखि सुरु गरेको हो ।