नेपाल राष्ट्र बैंकको आगामी गभर्नरका लागि तीनजनाको नाम सिफारिस भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले मन्त्रिपरिषदमा नाम सिफारिस गरेको हो।
समितिले पूर्व अर्थसचिव राजन खनाल, राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम आगामी गभर्नरका लागि सिफारिस गरेको हो ।
आज बस्ने मन्त्रीपरिषद बैठकले यिनै तीन जनामध्ये एकलाई गभर्नरमा नियुक्ति गर्ने बताइएको छ।
डा. चीरञ्जीवी नेपालको कार्यकाल सकिएपछि चैत ५ गतेदेखि राष्ट्र बैंकमा गभर्नर खाली छ। डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी सम्हालिरहेका छन्।
समयमा नै गभर्नर नियुक्त हुन नसक्दा समस्या भइरहेको गुनासो बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेका छन्।
अर्थमन्त्री खतिवडा संयोजक रहेको सिफारिस समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थ सचिव कृष्णहरि बाँस्कोटा सदस्य छन्। राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री संयोजक रहनेगरी सिफारिस समिति बन्ने र सोही सिफारिसअनुसार मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ।
तीनजनाको नाम सिफारिस गर्दा एकजना राष्ट्र बैंककै बहालवाला डेपुटी गभर्नरको नाम पर्नुपर्ने हुन्छ। बाँकी दुई जना आर्थिक, मौद्रिक, बैकिङ लगायतका क्षेत्रमा ख्याति प्राप्त ता अनुभवी छान्नुपर्ने हुन्छ।
गभर्नरका लागि सिफारिस गरिएका शिवाकोटी प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् अधिकारी अर्थमन्त्री निकट। खनाल पनि अर्थमन्त्री र ओली दुवैका निकट व्यक्ति हुन्।
अधिकारी र शिवाकोटी नेपाल राष्ट्र बैंककै उत्पादन हुन् भने खनालले अर्थ सचिव हुँदा हुदा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेर काम गरेका थिए । उनले अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्ने भएकाले अर्थमन्त्रीले चाहेको निर्णय समितिबाट गराउने काममा मुख्य भूमिका खेलेका थिए।
शिवाकोटी चैत ५ गतेदेखि कामु गभर्नरको जिम्मेवारीमा छन्। उनको पहलमा राष्ट्र बैंकले कोरोना भाइरसले समस्यामा परेका ऋणीलाई सहुलियत दिन प्याकेज ल्याएको छ।
त्यस्तै लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी यसअघि पनि गभर्नरमा सिफारिस भइसकेका थिए। उनी निवर्तमान गभर्नर डा. चीरन्जीवी नेपालसँगै गभर्नरका लागि डा. रामशरण महत अर्थमन्त्री हुँदा सिफारिसमा परेका थिए।
नेपाल राष्ट्र बैंकमा गभर्नर हुँदा डा. खतिवडालाई सफल बनाउन डेपुटी गभर्नर अधिकारीको मुख्य भूमिका रहेको खतिवडाले नै बताउने गरेका छन्। डा. खतिवडा गभर्नर हुँदा वित्तीय क्षेत्रमा निकै सुधार भएको सरोकारवालाहरु बताउँछन् ।