बिहीबार, भदौ ४, २०८३

कोरोनाको कारण सरकारले गर्‍याे आन्तरिक खर्च कटौती

कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको र आर्थिक संकट उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै सरकारले आन्तरिक खर्च कटौती गरेको छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं– सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको र आर्थिक संकट उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै सरकारले आन्तरिक खर्च कटौती गरेको हो।

सरकारले मातहतका सम्पूर्ण निकायका लागि विनियोजन गरेको विभिन्न शीर्षकको बजेट कोरोनाका कारण स्थगित गरेको जनाएको छ। अर्थमन्त्रालयले बिहीबार विभिन्न सरकारी निकायलाई परिपत्र जारी गरी विभिन्न शीर्षकमा गएका बजेटहरू अहिले खर्च नगरी स्थगित गर्न निर्देशन दिएको हो।

सरकारी निकायका लागि सवारी साधन, औजार, मेसिनरी सामान, फर्निचर तथा फिक्चर्स, कम्प्युटर, सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य भौतिक सम्पत्ति प्राप्ति खर्च, अनुसन्धान खर्च, भैपरी आउने पुँजीगत खर्च, जग्गा प्राप्ति लगायतका खर्च गर्न रोक लगाएको छ।

त्यस्तै सेवा परामर्श खर्च, तालिम, कार्यक्रम सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी खर्च, अनुमगन खर्च विविध कार्यक्रम खर्च लगायतका खर्चहरू गर्न रोक लगाएको छ। कोरोनाको कारण आर्थिक गतिविधि प्रभावित भएको र राज्यको ठूलो स्रोतको रूपमा रहेको राजस्व संकलनमा पनि कमी आइरहेको हँुदा विभिन्न शीर्षकमा गएको बजेट तत्कालका लागि खर्च नगरिने मन्त्रालयले जनाएको छ।

खर्चका गर्न स्थगन गरिएको सो बजेट आवश्यकता अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा उपयोग गरी स्रोत व्यवस्थापन गरिने सो पत्रमा उल्लेख गरिएको छ।

सो पत्र अनुसार चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको कार्यक्रम तथा परियोजनाको भने अर्थमन्त्रालयले बजेट विनियोजन गर्ने जनाएको छ।

प्रकाशित: Apr 03, 2020| 13:20 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्