काठमाडौं- सरकारले असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायलाई राहतस्वरुप चामल, दाल, चिनी, नुन साबुन उपलब्ध गराउने भएको छ।कोरोना भाइरस जोखिमका कारण लकडाउन घोषणा गरेपछि जीवन गुजारा चलाउन समस्यामा परेकाे वर्गलाई सरकारले राहत दिन लागेकाे हाे।
अर्थ मन्त्रालयले बुधबार जारी गरेको मापदण्डअनुसार राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। सरकारले केही दिनअघि असंगठित क्षेत्रका श्रमिक तथा असहायलाई लक्ष्य गरी दैनिक जीवनयापनका लागि राहत घोषणा गरेको थियो।
राहत वितरण पारदर्शी र व्यवस्थित बनाउन मापदण्ड बनाइएको अर्थ मन्त्रालयले जनाएको छ।
मापदण्डअनुसार श्रमिक र असहायले प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ लिटर तेल, ४ वटा साबुन र २ केजी चिनी पाउनेछन्। यो राहत परिमाण २ जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि हो। २ जनाभन्दा कम सदस्य रहेमा त्यसको आधा राहत पाउने मापदण्डमा उल्लेख छ।
राहत पाउन वडामा सम्पर्क गर्नुपर्नेछ। वडाले संकलन गरेको तथ्यांकबमोजिम राहत बाँडिनेछ। यसको सम्पूर्ण विवरण स्थानीय तहलाई राख्न जिम्मेवारी तोकिएको छ।
कसकसले पाउँछन् ?
पसलबाट घरमा सामान ओसारपसार गर्ने व्यक्ति, पर्यटक भरिया, निर्माण क्षेत्रका भरिया, ट्रक ट्रिपरमा सामान अनलोड गर्ने श्रमिक वर्ग र अर्काको खेतबारीमा ज्यालादारी गर्ने श्रमिकले राहत पाउनेछन्।
यस्तै दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, गिट्टी कुट्ने मजदुर, निर्माण क्षेत्रमा काम गर्ने सिकर्मी, डकर्मी र हेल्पर पनि मापदण्डअनुसार राहत पाउनेछन्।
नाङ्लो पसले, दैनिक ठेक्कामा टेम्पो, ट्याक्सी चलाउने, रिक्सा तथा ठेलागाडा चालक, गार्मेटलगायतका पसलमा दैनिक ज्यालादारी काम गर्ने वर्गले राहत पाउने मापदण्डमा उल्लेख छ।
कसैको लालनपालनमा नरही आवासविहीन भई मन्दिर, आश्रम, धर्मशालालगायतका स्थानमा बस्ने व्यक्तिले पनि राहत पाउनेछन्।
यस्ताे छ मापदण्ड