चैत ५ गतेदेखि रिक्त नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति जारी लकडाउन पछिमात्र हुने भएको छ । राससलाई मंगलबार दिएको अन्तर्वार्ताका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको अवधि सकिएपछि मात्र गभर्नरको निर्णय गर्ने जानकारी दिएका छन्।
डा. चीरन्जीवी नेपालको कार्यकाल सकिएसँगै गभर्नर पद खाली छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कामु गभर्नरको काम गर्दै आएका छन् ।
गभर्नर छनोट गर्नका लागि सोमबार मन्त्रीपरिषद्ले समिति गठन गरेको छ । अर्थमन्त्री खतिवडा संयोजक रहेको समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य छन् ।
समितिले एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्छ । त्यसैमध्येबाट मन्त्रीपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर रिक्त हुनुभन्दा एक महिना अघि नै नयाँ नियुक्त गर्ने व्यवस्था छ । तर यसपटक अर्थमन्त्रीको कार्यकाल विवाद, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र कोरोना संक्रमणको कारण गभर्नरको नियुक्ति हुन सकेको छैन ।