काठमाडौं- नबिल बैंकले कर्मचारीको दक्षता स्तरोन्नति गर्दै सेवाग्राहीलाई तत्कालै सेवा प्रदान गर्ने उद्देश्यले 'नबिल डिजी वर्कस्पेस' सञ्चालनमा ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्नेछ बैंकको भनाइ छ।
सबै कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्ने बैंकले बताएको छ।
वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता भएकाले त्यसलाई आत्मसात गर्दै वर्कस्पेस सुरु गरिएको बताए।
'वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन्, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन्। यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्नेमा बैंक विश्वस्त छ,' उनले भने। यसले कागजी प्रक्रिया बिना शीघ्रातिशीघ्र कार्य सम्पादनमा सहयोग पुग्ने उनको विश्वास छ।
बैंकका देशभर १३५ शाखा, १७६ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट छन्।