सुर्खेत– कालिकोटका २० वर्षीय केशरबहादुर सिंह मंगलबार सुर्खेत बजारबाट फर्कंदै गर्दा गौतम चोक नजिक टिप्परले ठक्कर दियो । तीब्र गतिको टिप्परको ठक्करबाट शरीर क्षतविक्षत भएका उनको घटनास्थलमै प्राण गयो ।
जानकारी पाएलगत्तै घटनास्थल पुगेकी उनकी प्रेमिकाले पनि त्यसको केही बेरमा आत्महत्या गरेकी छन्।
कालिकोट, महावै गाउँपालिका–३ सिमखेतका केशरबहादुर सिंह र सोही ठाउँकी अरुणा शाही तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन्।
केशरले रोजगारी पाएपछि विवाह गर्ने योजनामा थिएमा उनीहरु। तर, आफ्नो प्रेमले मूर्त रुप नपाउँदै दुवैजना यो संसारबाट बिदा भएका छन् ।
दुर्घटनालगत्तै घटनास्थल पुगेकी अरुणाले केशरको क्षतविक्षत शरीर देखेकी थिइन्। सबैको ध्यान घटनास्थलमा केन्द्रित भएका बेला अरुणा भने त्यो हेर्न नसकेर सुर्खेतस्थित मामाघर पुगिन्।
अरुणाका मामाहरु पनि घटनास्थलमै रहेका बेला उनले झुन्डिएर आत्महत्या गरेकी हुन्। उनी सुर्खेतमा मामाघर बस्दै आएकी थिइन् ।
केशरका आफन्त कमलकुमार सिंहका अनुसार उनीहरुबीचको प्रेम साथीभाइ र परिवारका केही सदस्यलाई पनि थाहा थियो।
आफ्नै खुट्टामा उभिएपछि मात्रै अरुणासँग बिहे गर्ने योजनामा थिए केशर । घरको जेठो छोरा केशरको थप पारिवारिक जिम्मेवारी पनि थियो।
कालिकोटबाट १२ कक्षा पास गरेपछि रोजागारीको लागि उनी सुर्खेत झरेका थिए। सुर्खेतमा पनि रोजगारी नपाएपछि उनले भारतीय सेनामा भर्तिको प्रयास गरे । तर, त्यो पनि असफल भएपछि कोरिया जाने तयारीमा थिए।
केशरले वीरेन्द्रनगरमा बसेर कोरियन भाषाको प्रशिक्षण लिने तयारी थालेपछि अरुणा पनि प्रेमीलाई पछ्याउँदै सुर्खेत झरिन्। मामाघर सुर्खेतमा भएकाले अरुणालाई सजिलो भयो । त्यसपछि दुवैजनाले कोरियन भाषाको प्रशिक्षण लिन थाले।
कलमकुमारका अनुसार केशर मंगलबार कालिकोट घरमा पठाउने सामान किन्न बजार गएका थिए।
सामान किनेर बागेंसिमलस्थित डेरातर्फ फर्कँदै गर्दा भे१ख २२४२ नम्बरको टिप्परले उनको आधा शरीर नै क्षतविक्षत पारिदियो।
घटनापछि अरुणाले पनि आफूलाई सम्हाल्न सकिनन्। यि तन्नेरी जोडीको असामयिक निधनसँगै परिवार र आफन्तलाई ठूलो चोट पुगेको छ।
जेठो छोराले कमाई गरेर जीवन सहज बनाउला भन्ने आशामा रहेका केशरको परिवारको आशा पनि चकनाचुर भएको छ।
केशरको ज्यान लिने टिप्पर चालकलाई कारबाहीको माग गर्दै वीरेन्द्रनगरमा मंगलबार दिनभर प्रदर्शन भयो। स्थिति तनावपूर्ण हुँदै जाँदा प्रहरीले केही राउण्ड गोली प्रहार गरेको थियो भने साँझ कर्फ्यू लगाइएको थियो।
सम्बन्धित समाचारहरू