सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुष्ठरोग निवारण घोषणाको १० वर्ष, रोगीको संख्या बढ्दै

कुष्ठरोग निवारण घोषणाको १० वर्ष, रोगीको संख्या बढ्दै

नेपालमा दश पर्ष अगाडि नै (२०६६) मा राष्ट्रिय कुष्ठरोग निवारणको घोषणा भएको थियो।
 |  आइतबार, माघ १२, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, माघ १२, २०७६

काठमाडौं- नेपालमा दश पर्ष अगाडि नै (२०६६) मा राष्ट्रिय कुष्ठरोग निवारणको घोषणा भएको थियो। पछिल्ला वर्षहरुमा भने कुष्ठरोग निवारणको सट्टा रोगीको संख्या बढ्दै गएको छ।

National life

विश्व स्वास्थ्य सङ्गठनको नियमअनुसार प्रति १० हजार जनसख्यामा एकभन्दा कम कुष्ठरोगी भएको अवस्थामा निवारण घोषणा गर्न सकिन्छ।

निवारणको वर्ष नेपालमा प्रति १० हजारमा ०.७७ अर्थात एकभन्दा कम रोगीको सख्या थियो र निवारण घोषणा गरियो।

निवारणको घोषणा गर्नु भनेको त्यो देशमा कुनै खास रोग सार्वजनिक स्वास्थ्य समस्याको रूपमा नरहनु हो भन्ने पनि हो। तर पछिल्ला वर्षहरुमा कुष्ठरोगीहरुको संख्यामा वृद्धि हुँदै गइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ।

वि.सं.२०६६ मा कुष्ठरोग निवारण घोषणा गर्दा नेपालमा १२ वटा जिल्लाहरुमा कुष्ठरोग निवारणको स्थितिमा थिएन। तर हाल १७ जिल्लाहरुमा कुष्ठरोग निवारण नभएको स्थिति छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० मा कुष्ठरोगीको संख्या प्रति १० हजारमा १ भन्दा कममा झार्ने लक्ष्य लिएको छ, जसमा नेपाल पनि सामेल छ। तर नेपालमा कुष्ठरोगीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा निवारण लक्ष्य असफल भएको छ।

Shivam cement

स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालै सार्वजनिक गरेको तथ्यांकले कुष्ठरोगीको संख्या बढ्दोक्रममा रहेको देखाएको छ। आर्थिक वर्ष ०७५/७६ मा ३ हजार २ सय ८२ नयाँ बिरामी थपिएका छन् भने उपचारमा रहेका कुष्ठरोगी २ हजार ९ सय २१ जना छन्। नेपालमा कुष्ठरोगका कारण अपांगता हुनेको संख्या करिब ३१ हजार रहेको अनुमान गरिएको छ।

प्रदेश २ मा सबैभन्दा धेरै कुष्ठरोगी

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन इकाई प्रमुख डा. उत्तम घिमिरेका अनुसार प्रदेश २ मा सबैभन्दा बढि कुष्ठरोगका नयाँ बिरामी देखिएका छन्। प्रदेश २ मा १ हजार ४ सय ८४ कुष्ठरोगका विरामी भेटिएका छन्। सबैभन्दा कम कर्णली प्रदेशमा जम्मा ८९ जना कुष्ठरोगी भेटिएका छन्।

त्यस्तै प्रदेश नं ५ नयाँ कुष्ठरोगी हुनेको दोस्रो स्थानमा छ। प्रदेश ५ मा ७ सय १९ जना कुष्ठरोगी भेटिएका छन्। त्यस्तै बागमती प्रदेशमा १ सय ६५, सुदुरपश्चिममा २ सय ६६, प्रदेश १ मा ४ सय ७१ जना नयाँ बिरामी भेटिएको तथ्यांक छ।

नेपालमा कुष्ठरोगको संक्रमण तराईका १७ जिल्लामा बढिरहेको छ। मोरङ, झापा, माहोत्तरी, सिरहालगायत जिल्लामा संक्रमण दर बढ्दो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।

सन् २०२० सम्म जन्मिएदेखि १४ वर्षसम्मका बालबालिकालाई शून्यमा झार्ने लक्ष्य रहे पनि यस वर्ष यो उमेर समूहका २ सय ६० जनामा कुष्ठरोगको संक्रमण देखिएको छ।

नयाँ तथ्यांकअनुसार १४ वर्षसम्मका बालबालिकामा प्रति १० हजार ७.९२ जनामा कुष्ठरोग पाइएको छ, जुन निवारणको लक्ष्यभन्दा झन्डै आठगुण बढी हो। बालबालिकामा देखिएको यस्तो नतिजाले भविष्यमा कुष्ठरोगले विकराल रूप लिने कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन इकाई प्रमुख घिमिरे बताउँछन्।

किन बढ्दैछ कुष्ठरोग ?

नेपाली समाजमा आज पनि कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गर्ने मानसकिता हट्न नसकेको चिकित्सकहरु बताउँछन्। अझै पनि समाजको घृणाका कारणले पनि कुष्ठरोगी खुलेर उपचारको दायरमा आउन सकेका छैनन्। कुष्ठरोग नियन्त्रणको लागि जनशक्ति घटाउँदा कुष्ठरोग निवारण कार्यक्रम नियन्त्रणबाहिर गएको सरोकारवालाहरु बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार देश संघीय प्रणालीमा गएपछि जिल्लामा भएका कुष्ठरोग हेर्ने जनशक्ति घटाइएको छ, लालले भने, ‘हामीले अहिले तत्कालै नयाँ स्वास्थ्यकर्मीलाई तालिम दिन सकेका छैनौँ, जसका कारण कार्यक्रमको लक्ष्य नै नियन्त्रणबाहिर गएको छ।’

कुष्ठरोग निवारणका लागि वार्षिक १६ करोड लगानी गरिएको छ। संघमा २ करोड ५५ लाख, सातै प्रदेशमा ४ करोड १० लाख र ९ करोड ३३ लाख विनियोजन गरिएको छ। तर पनि कुष्ठरोग नियन्त्रणमा आउनुको साटो उल्टो दिशामा पुगेको छ।

कुष्ठरोग के हो ?

कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे किटाणुका कारण हुने संक्रमक रोग हो। यो रोगले मुख्य रूपमा छाला र स्नायुका टुप्पाहरू (विशेषगरी हात औँला) मा आक्रमण गर्छ। त्यसबाहेक, यसले नाकको भित्रि भित्ता तथा माथिल्लो श्वासनलीमा पनि संक्रमण गर्छ।

यो रोगको किटाणुले संक्रमण गरेपछि र हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ र नचिलाउने दागहरु देखा पर्छन्। ती दागहरु छुँदा, चिमोट्दा थाहा नहुने, आगोले पोल्दासमेत पोलेको महसुस नहुने कुष्ठरोगका लक्षण हुन्।

कुष्ठरोग लागेपछि छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ। त्यसैगरी, अनुहारको छाला बाक्लो हुने, गिर्खाहरू देखापर्ने, स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने हुन्छ।

यो रोग लागेमा कुष्ठरोगलाई चिह्न र लक्षणका आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ। कम किटाणु भएमा ६ महिनासम्म र बढी किटाणु भएमा १२ महिनासम्म नियमित औषधि खुवाएर रोग निको पार्न सकिन्छ। यो रोग लागेको ५ वर्ष, १० वर्ष कटेपछि मात्रै बिरामीहरु अस्पताल जाने गर्छन्।

जनचेतना अभावका कारण मानिसहरु कुष्ठरोग लागेको सुरुको चरणलाई वेवास्ता गर्छन् र रोगले गम्भीर रूप धारण गरेपछि र शारीरिक रूपमा समस्या हुन थालेपछि मात्रै बिरामीहरू अस्पताल जाने गरेको चिकित्सकहरु बताउँछन्।

कसरी सर्छ ?

कुष्ठरोग यसरी नै सर्छ भन्ने अहिलेसम्म कुनै पनि अनुसन्धानले स्पष्ट पार्न सकेको छैन। धेरै चिकित्सकहरूले रोगीको नाक तथा मुखबाट निस्किएको सिँगान, र्‍याल आदिको माध्यमबाट यो रोग सर्छ भन्ने विश्वास गर्छन्। विशेष गरी, संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ।

उपचार नगरेको कुष्ठरोगी बिरामीसँग हप्तामा २० घण्टा बढि समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट यो रोग गर्दछ। कुष्ठरोग १ वर्ष औषधि खाएपछि निको हुने चिकित्सकहरु बताउँछन्।

लक्षणहरु

१. शरीरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो, फुस्रो दागहरू देखापर्नु।

२. हातखुट्टाको सतहका स्नायु सुन्निनु।

३. अनुहार र कानको लोती बाक्लो हुनु र गिर्खाहरू देखिनु।

४. हातखुट्टामा नदुख्ने घाउहरू देखापर्नु

उपचार पद्धति

कुष्ठरोग सरुवा रोग भए पनि अन्य रोगभन्दा कम खतरनाक मानिन्छ। किनकी यो रोग अन्य सरुवा रोगजस्तो तुरुन्तै सर्दैन। यसको उपचार पनि तुलनात्मक रुपमा सजिलो हुन्छ।

कुनै परिवारका सदस्यमा कुष्ठरोग भेटिएको छ भने दोस्रो व्यक्तिलाई रोग सर्न नदिनका लागि लेप्रोसी पोस्ट एक्सपोजर प्रोफेलेक्सिस (एलपेप) अन्तर्गत एक मात्रा औषधि खुवाए रोग सर्ने सम्भावना ६० प्रतिशतसम्म कम हुने चिकित्सकले जनाएका छन्।

यो रोग कम किटाणु भएको प्यासी ब्यासेलरी (पीबी) र बढी किटाणु भएको मल्टी ब्यासेलरी (एमबी) गरी दुई प्रकारको हुन्छ। नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगीहरू धेरै छन्। पीबी छालामा ‘हाइपोपिग्मेन्टेसन’ वा बढी दागका कारण चिनिन्छ।

रोग दुई किसिमको भए जस्तै उपचार पनि दुई किसिमकै हुन्छ। पीबी कुष्ठरोगको उपचार ६ महिनासम्म गर्नुपर्ने हुन्छ भने एमबीको उपचार पीबीकोभन्दा दोब्बर १२ महिनासम्म उपचार गर्नुपर्ने हुन्छ। उपचारपछि कुष्ठरोग पूर्ण रूपमा निको पार्न सकिन्छ।

लुकेरै बस्छन् कुष्ठरोगी

समुदायमा लुकेर बस्ने कुष्ठरोगी सरकारको लागि चुनौती बनेको छ। तर पनि सरकारले अहिलेसम्म ठोस कदम चाल्न सकेको छैन। सरकारले लुकेर बस्ने कुष्ठरोगी पत्ता लगाउनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी खटाएको जनाएको छ।

स्वास्थ्यकर्मीलाई तालिम दिएर टोल, समुदाय र घरघरमा गएर शरीरमा कुष्ठरोगसम्बन्धी कुनै लक्षण भएका दाग छन् कि भनेर सोध्ने, जाँच्ने र भएको खण्डमा स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको महाशाखाले जनाएको छ।

याे पनि

प्रकाशित: Jan 26, 2020| 16:59 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।