मंगलबार, भदौ २, २०८३

सरकारमा सहभागिताबारे राजपाभित्र चरम विवाद

नेकपासँग दुई बुँदे सम्झौता हुँदै गर्दा राजपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका थिए । मधेश आन्दोलनको क्रममा शत्रु शक्ति मानेको दलसँग सम्झौता गर्नु आमजनमतको भावनाको बर्खिलाप रहेको उनीहरुको भनाइ थियो ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

जनकपुरधाम– राष्ट्रियसभा सदस्य निर्वाचन हुन अब पाँच दिनमात्र बाँकी छ । दुई वर्षे कार्यकाल पूरा भई रिक्त हुने १८ पदका लागि यही माघ ९ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुन लागेको हो ।

प्रदेश २ मा चारजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग दुई बुँदे सम्झौता गरेको छ ।

दुई दलबीच भएको दुई बुँदे सहमतिमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने र दोस्रो बुँदामा आगामी दिनमा सहकार्यलाई निरन्तरता दिइने उल्लेख छ ।

नेकपासँग दुई बुँदे सम्झौता हुँदै गर्दा राजपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका थिए । मधेश आन्दोलनको क्रममा शत्रु शक्ति मानेको दलसँग सम्झौता गर्नु आमजनमतको भावनाको बर्खिलाप रहेको उनीहरुको भनाइ थियो ।

तर, राजनीतिमा कोही स्थायी शक्ति र स्थायी शत्रु नहुने भन्दै नेकपासँग सहमति भयो । सहमति त भयो, तर राष्ट्रियसभा सदस्यको टिकट वितरणमा राजपाभित्र व्यापक असन्तुष्टि देखिएको छ। राजपाबाट राष्ट्रियसभा सदस्यका लागि मृगेन्द्रसिंह यादव र शेखर सिंहले टिकट पाएका छन् ।

सप्तरीवासी दुवैजना राजावादी छविका भन्दै राजपाका कतिपय नेताहरुले असन्तुष्टि पोख्दै आइरहेका छन् । राष्ट्रियसभामा टिकट पाएका दुवैजनाले पञ्चायतदेखि शाहीकालसम्म लाभको पद पाइसकेका छन् । मृगेन्द्र राजपा अध्यक्षमण्डल राजेन्द्र महतो र शेखर अध्यक्षमण्डल सदस्य शरतसिंह भण्डारी निकट मानिन्छन् ।

अहिले राजपाभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । खास गरेर सरकारमा सहभागी हुने विषयलाई लिएर राजपाका दुईजना वरिष्ठ नेताहरुले सार्वजनिक रुपमै आफ्नो धारणा सार्वजनिक गरेपछि आन्तरिक विवाद सतहमा आएको हो ।

राष्ट्रियसभा निर्वाचन सकिएपछि राजपा सरकारमा जाने तयारीमा छ । मुख्यतः राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसहित अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेको बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष सवेन्द्रनाथ शुक्ल र उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यक्त गरेको टिप्पणीले पनि राजपा सरकारमा सहभागी हुने तयारीमा रहेको पुष्टि गरेको छ । वरिष्ठ उपाध्यक्ष शुक्ल र उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य लालले पार्टीभित्र सरकारमा सहभागी हुने खेल चलिरहेको भन्दै आपत्ति जनाएका छन् ।

राजपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य लालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘अब हद भइसक्यो । एकीकरणको उद्देश्य मधेश आन्दोलनलाई मजबुत गर्ने थियो । तर यत्रो विशाल एजेन्डाको संघर्षमा यस्ता नेतृत्वहरुको घूसपैठ भएको छ, जसले मात्र भजाउन जानेका छन् ।’

हिन्दीमा आफ्नो धारणा सार्वजनिक गर्दै लालले भनेका छन्, ‘हामीले संघर्ष गरेका छौं र गरिरहने छौं– समानता, समावेशिता र स्वशासनको लागि ! जबसम्म संविधानमा अनुकूल परिवर्तन हुँदैन, सीमांकनसहित हाम्रो माग पूरा हुँदैन, सरकारमा जाने कुरा सहिदहरुले दिएको बलिदानको अपमानमात्र हुनेछ । स्वार्थको लागि केही व्यक्ति भित्रभित्रै यस्तो खेल खेलीरहेका छन् ।’ ‘हामी सावधान हुनुपर्छ। तमाम समतावादी परिवर्तनवादीहरु एकजुट हुनुपर्छ ।’

यसैगरी शुक्लले फेसबुकमा ‘संविधान संशोधनको मुद्दामा सहमति नबन्दासम्म राजपा सरकारमा जान नहुने’ बताएका छन् । शुक्लले अगाडि लेखेका छन्, ‘रेशम चौधरीको रिहाइलाई राजपाका केही नेताहरुले सरकारमा जाने गेटपासका रुपमा लिइराखेका छन् । निःसन्देह रेशम चौधरी छुट्नु हाम्रा लागि अत्यन्त खुसीको कुरा हो ।

तर अन्य व्यक्तिको रिहाइ र समस्त झुठा मुद्दा खारेजी तथा हाम्रो अर्जुनदृष्टि रहेको मूल विषय सम्पूर्ण आदिवासी, जनजाति, दलित, मधेशी, मुस्लिम, थारु महिलाको उत्थानका लागि गरिएको हाम्रो बाचा र एजेन्डा संविधान संशोधनलाई कुनै हालतमा छोड्न मिल्दैन । स्मरण रहोस्, यत्रो त्याग र बलिदानले स्थापित यो मुद्दा राजपाले कसैको स्वार्थमा पन्छाउन खोजे इतिहासले हामीलाई कहिल्यै क्षमा गर्ने छैन् । सबैलाई चेतना भया ।’

राजपाभित्र शुक्ल र लाल अध्यक्षमण्डल सदस्य महन्थ ठाकुर निकट मानिन्छन् ।

याे पनि‍‍‍...

राजपा केन्द्रीय सदस्यले दिए सरकार ढाल्ने चेतावनी

 

प्रकाशित: Jan 17, 2020| 11:02 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।