बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

काठमाडौं। प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली (आरएनपी–एआर) लागू गर्न प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको छ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति र आसपासका पहाडी भू–बनोटका साथै प्राविधिक तथा सञ्चालनसम्बन्धी सीमितताले प्रतिकूल मौसममा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ।

नयाँ प्रणाली उपग्रहमा आधारित हुनेछ। यसलाई कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन र नियामकीय स्वीकृतिलगायत प्रक्रिया पूरा गर्नुपर्नेछ।

प्रणाली लागू भएपछि कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने घटनामा कमी आउने अपेक्षा गरिएको छ। यसले पोखराको हवाई सेवालाई थप नियमित, भरपर्दो र सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढ्नु हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई सुरक्षित, नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Oct 15, 2026| 19:10 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्