नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले महलबारीस्थित सडकखण्डमा ११ वटा हरियो ठूलो झोलामा राखिएको मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो।
बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल रम रहेका छन्। प्रहरीले प्रतिएक बोतलको अनुमानित मूल्य दुई हजार रुपैयाँका दरले कुल १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा रहेको जनाएको छ।
बरामद गरिएको मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले मदिरा कसले र कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ।