जनकपुरधाम– निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिकाअनुसार जनकपुरस्थित राष्ट्रियसभा निर्वाचन कार्यालमा आइतबार विभिन्न दलका उम्मेदवारहरु र्यालीसहित मनोनयन दर्ता गराएका छन्।
त्यस क्रममा जनकपुरमा राजपाले नेकपाको कार्यालयबाट र्याली निकालेको छ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टीले गठबन्धन गरेका छन्।
राष्ट्रिय सभा सदस्यका लागि नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहालले उम्मेदवारी दर्ता गराएका छन् भने राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहको मनोनयन दर्ता भएको छ। मृगेन्द्र राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो र शेखर अध्यक्षमण्डल सदस्य शरतसिंह भण्डारी निकट मानिन्छन् ।
मनोनयन दर्तापूर्व राजपाका उम्मेदवार तथा नेताहरु उच्च अदालत नजिक नेकपाको कार्यालय पुगेका थिए। नेकपा कार्यालयबाट राजपा र नेकपाका उम्मदेवारसहित नेताहरु निर्वाचन कार्यालय पुगेका थिए।
मनोनयन दर्तापूर्व राजपाका महामहन्त्री तथा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर साह, वन, उद्योग तथा पर्यटनमन्त्री रामनरेश राय यादवसहितका नेताहरु नेकपा कार्यालय पुगेका थिए ।
सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राजपाका उम्मेदवार शेखर सिंहले नेकपा-राजपा गठबन्धन नयाँ नरहेको बताउँदै यो सहकार्य लामो समय चल्ने दाबी गरे।
यता राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गरेपनि कांग्रेस र समाजवादी पार्टीले भने आ-आफ्नै कार्यालयबाट र्याली निकालेर निर्वाचन कार्यालय पुगेका थिए। कांग्रेसले जनकपुरधाम–४ स्थित पिडडिया माइस्थानस्थित पार्टी कार्यालय र समाजवादीले आँखा अस्पतालस्थित पार्टी कार्यालयबाट जुलुस निकाल्दै मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेको थियो ।
नेपाली कांग्रेसबाट भोला पञ्जियर र नगिनादेवी यादव तथा समाजवादीबाट रामपृृत पासवान र अनिरुद्धसिंह यादवले मनोनयन दर्ता गराएका छन् । यसअघि पनि राष्ट्रियसभा सदस्य रहेका पासवानलाई समाजवादी पार्टीले पुनः मौका दिएको छ भने अनिरुद्धसिंह राजपाबाट टिकट पाएका मृगेन्द्रका भाइ हुन् ।
.jpg)
.jpg)