काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ।
अनेरास्ववियु फ्रयाक्सन कमिटी बैठकले केन्द्रीय समितिको टुंगो लगाएको हो।
बैठकले तत्कालीन एमाले समर्थित अनेरास्ववियुबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी गराइएको ३३५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको अनेरास्ववियुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, बैठकले केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि गरेको छ। संगठनमा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन गरिने विज्ञप्तिमा उल्लेख छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटीको टुंगो लाग्न सकेको थिएन। पार्टी एकतालगत्तै ऐन महरलाई संयोजक र रञ्जित तामाङलाई सहसंयोजक तोकिएका थिए।




