काठमाडौं - मौसम पूर्वानुमान शाखाले आज (शनिबार) पनि काठमाडौं उपत्यकालगायत पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान हल्का वर्षासमेत भएको छ भने बदली रहेको छ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको कारण वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आइतबार अपरान्हपछि मात्रै मौसम सफा हुने जानकारी दिइन्।
शुक्रवार सबैभन्दा बढी दीपायलमा ६२ दशमलव ३ मिलिमिटर वर्षा भएको छ भने विरेन्द्रनगरमा ३८ दशमलव ७, डडेल्धुरामा ३५, पोखरामा ३० र काठमाडौंमा ३ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।