काठमाडौं- उखुको बक्यौता रकम माग गर्दै काठमाडौंमा आएका उखु किसानसँग सरकारले सहमति गरेको छ।
चिनी मिलले वर्षौँदेखि रकम भुक्तानी नगरेको भन्दै गत हप्तादेखि काठमाडौंको माइतिघर मण्डलमा प्रदर्शन गरिरहेका सर्लाहीका किसानसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार सहमति गरेपछि उखु किसानले आन्दोलन स्थगित गरेका छन्।
उखु किसानसँग सरकारले आगामी माघ ७ गतेसम्ममा भुक्तानी दिलाउने प्रतिबद्धतासहित सहमति गरेको छ।
चिनी मिलहरुबाट किसानहरुलाई दिन बाँकी रहेको करिब डेढ अर्ब बक्यौता रकम दिलाउने प्रतिबद्धता मन्त्री लेखराज भट्टले गरेका छन्।
सहमति पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव दिनेश भट्टराई र उखु किसानका तर्फबाट किसान संघर्ष समितिका सचिव हरिशरण रायले हस्ताक्षर गरेका छन्।
उखु किसानसँग भएको ५ बुँदे सहमतिमा नेपाल सरकारबाट उखु किसानहरुलाई उपलब्ध गराइने अनुदान बापतको रकम किसानहरुले समयमै नपाएको गुनासो आएकाले समयमै उपलब्ध गराउन पहल गर्ने उल्लेख गरिएको छ।
त्यस्तै उखु उत्पादन बढाउने, सरकारले सहयोग गर्ने, उखु किसानका अन्य गुनासाहरु सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने लगायतका सहमति भएका छन्।
यस्ताे छ सहमति पत्र

