काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध चार करोड ६८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले ढुङ्गानाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
छानबिनका क्रममा १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल पाँच करोड ४८ लाख तीन हजार तीन सय ५१ रुपैयाँ खर्च तथा लगानी गरेका देखिएको अख्तियारले जनाएको छ।
ढुङ्गानाले त्यस अवधिमा ७९ लाख ५४ हजार सात सय ९५ रुपैयाँ मात्रै वैध आम्दानी देखिएको अख्तियारले जनाएको छ । उनले गरेको खर्च तथा लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँको स्रोत नखुलेपछि सोही रकम बराबर बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार ढुङ्गानाले अवैध रुपमा आर्जन गरेको रकमबाट आफूसहित आफ्नी श्रीमती मधु कोइराला (ढुङ्गाना)का नाममा समेत चल तथा अचल सम्पत्ति खरिद गरेका छन्।
अख्तियारले ढुङ्गानाविरुद्ध विगोअनुसार जरिवानाका र अवैध रुपमा आर्जिक सम्पत्ति जफतका साथै दुई वर्ष कैद सजाय समेत मागदाबी गरेको छ ।
यस्तै अख्तियारले उपसचिव ढुङ्गानाकी श्रीमती मधुलाई समेत प्रतिवादी बनाएर अवैध रुपमा आर्जन गरी उनको नाममा कायम भएको सम्पत्ति जफतको मागदाबी समेत गरेको छ।