मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा ५७ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालका अनुसार सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार पाँच सय ६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएको जानकारी दिए।
सन् २०१८ मा ५९ हजार आठ सय ३८, २०१७ मा ५२ हजार चार सय ७५ र २०१६ मा ३९ हजार १७ ले मुस्ताङ भ्रमण गरेका थिए।
पुरानाे पदमार्ग सडकमा परिणत भएको र उपल्लो मुस्ताङ भ्रमणको शुल्क महँगो भएका कारण पर्यटक आगमनमा असर परेको लोमान्थाङका होटल व्यवसायी रामबहादुर गुरुङले बताए।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन्। एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्यांक संकलन गर्छ।
मुस्ताङमा गत वर्षको मेमा १२ हजार एक सय ४० र अप्रिलमा १० हजार दुई सय ६६ भित्रिएको तथ्यांक छ। जनवरीमा पाँच सय पाँच, फेब्रुअरीमा चार सय ४५, मार्चमा पाँच हजार तीन सय ७८, जुनमा तीन हजार ६ सय १०, जुलाईमा दुई हजार एक सय ४०, अगस्टमा दुई हजार दुई सय ७८ पर्यटक मुस्ताङ आएका छन्।
यसैगरी सेप्टेम्बरमा पाँच हजार एक सय १८, नोभेम्बरमा पाँच हजार आठ सय ६२ र डिसेम्बरमा एक हजार ८९ ले मुस्ताङ घुमेका छन्।
मुस्ताङ भ्रमण गर्ने पर्यटकमा सार्क मुलुकका पर्यटक बढेका छन् भने पश्चिमी देशका पर्यटक आगमन घटेको देखिएको छ।
करिब चार हजार पर्यटक अर्धनिषेधित क्षेत्र मानिएको उपल्लो मुस्ताङ घुम्न गएका छन् ।
माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन्।
मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा माउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन्। पर्यटकको सुविधाका लागि मुस्ताङको लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, चराङ, लोमान्थाङमा करिब तीन सय होटल तथा लज सञ्चालनमा छन्।
असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो।
पोखरा–जोमसोम हवाई र म्याग्दीदेखि बेनी–जोमसोम सडक भएर मुस्ताङ पुग्न सकिन्छ। पर्यटकको बसाई अवधि र आकर्षण बढाउन सडकमा परिणत भएका पदमार्गको विकल्पमा नयाँ पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको एक्याप जोमसोमका प्रमुख दाहालले बताए।
रासस