काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा सभामुख चयनलगायतबारे छलफल गर्नेछ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न नसक्दा नेकपाले सभामुखको टुंगो लगाउन सकेको छैन।
प्रचण्ड पूर्वमाओवादीले नै सभामुख पद पाउनुपर्ने अडानमा छन्। सभामुख पार्टी एकताअघि नै तत्कालीन माओवादीको भागमा परेको अब पनि पाउनुपर्ने उनको भनाइ छ। उनी देव गुरुङ वा अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने पक्षमा छन्।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली सभामुख छान्दा अब पहिला कुन पार्टीको भागमा थियो भन्ने नहेरी क्षमताका आधारमा दिनु पर्ने बताउँदै आएका छन्। उनी सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउनु पर्ने पक्षमा छन् ।
यता राष्ट्रपति विद्यादेवी भण्डारी पनि सभामुखको विषमया चासो देखाउँदै आएकी छिन्। उनी हाल रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा छिन्।
यस्तोमा आज बस्न लागेको बैठकले सभामुख टुंगो लगाउला कि नलगाउला भन्ने आम चासो छ।
सभामुखबारे सहमति जुट्न नसक्दा संसद बैठक दुई पटक स्थगित भइसकेको छ। गत पुस ११ को प्रतिनिधिसभाको बैठक यहि अन्योलका कारण सूचना टाँसेर स्थगित गरिएको थियो।
सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), प्रदेश १ र ५ को नाम र राजधानीलगायत विषयमा छलफल हुने बताइएको छ।